कविता : माफ गर्नोस् श्रीमान !

40
  •  
  •  
  •  

खोल फेरेर
पुरानै समय बााचिँरहेको
यो समयलाई
म, कसरी मेरो समय भनौँ ?

मिनि – स्कर्टबाट
साडी लाउँदैमा
प्रेमिका श्रीमती बन्न सक्तिनँ ।

हामीले चाहेको त
एउटा घरजस्तो देश थियो
पिताजस्तो शासन थियो
छोराजस्तो अनुशासन
र, आमाजस्तो माया थियो ।
अब तपाईं
आफै भन्नोस, श्रीमान् !
साधियार झैँ झगडिरहेका छोराहरू
सौता भित्र्याउन

तम्सिरहेका पिताहरू
र पोइल जान लालायित
आमाहरूको जमघटलाई
म कसरी
आफ्नो देशको नाम दिऊँ ?

तथापि एउटा कुरा भन्छु,
सधौँ त , दुःशासनहरू
सिँहासनमा नबस्लान्
सधौँ त, उज्यालोलाई
अाध्यारोले नछोप्ला

आगोलाई
खरानीले छोपेर
कतिन्जेल
शीतलताको भ्रम ताप्न सकिन्छ र !


  •  
  •  
  •