बल्ल भयो ओबीओआरमा हस्ताक्षर

338
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख (ओएनएस) :चीनको महत्वाकांक्षी अभियान वान बेल्ट वान रोड (ओबीओआर) मा बल्ल नेपाल सरकारले हस्ताक्षर गरेको छ । दक्षिणी छिमेकी भारतले हस्ताक्षर नगरेका कारण नेपाल सरकार पनि यसमा हस्ताक्षर गर्न हिच्किचाएको थियो ।

केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले चीनसँग रणनीतिक महत्वका केही सम्झौता गर्दा सरकार नै ढलेको थियो । तत्कालीन प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकार छाडेपछि ओली सरकार ढलेको हो ।

ओली सरकार संकटमा परेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेसले साथ दिएको थियो । प्रचण्ड सरकारले दक्षिणी छिमेकी भारतसँग सघन वार्ता र भ्रमण आदान प्रदान गरे पनि चीनसँगको सम्बन्धमा चिसोपना बढेको थियो ।

यो पनि पढ्नुहोस् : दक्षिणको साथ कमजोर भएपछि उत्तरतिर प्रचण्ड

दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न नसकेकोमा प्रचण्ड सरकारको आलोचना समेत हुँदै आएको थियो । ओबीओआरमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकारले यसलाई आफ्नो ठूलो सफलताका रुपमा अथ्र्याएको छ । हस्ताक्षरपछि परराष्ट्रमन्त्री प्रकाशशरण महतले कामबाटै जवाफ दिएको प्रतिक्रिया दिएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा सचिव शंकरदास बैरागी र चिनियाँ राजदूत यु होङले शुक्रबार बिहान ओबीओआरको ‘फ्रेमवर्क सम्झौता’मा हस्ताक्षर गरेका हुन् । परराष्ट्र सचिव वैरागी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै शुक्रबार बिहान थाइल्यान्ड र श्रीलंका जान लागेका कारण विमानस्थल पुग्नुअघि हस्ताक्षर सम्पन्न गरिएको हो ।

चीनमै परराष्ट्रमन्त्रीस्तरमा हस्ताक्षर गर्ने भनिए पनि बेइजिङमा हुने ओबीओआर सम्मेलनअघि समय कम भएकाले सचिवस्तरमा उक्त हस्ताक्षर भएको हो । चीनका तर्फबाट भने परराष्ट्र सचिवको अख्तियारी राजदूत यूले पाएकी थिइन् ।


  •  
  •  
  •