स्थानीय निकाय पुनःसंरचनामा कांग्रेसको अत्तो

365
  •  
  •  
  •  

Local Govt

काठमाडौं, ११ साउन (ओएनएस) : सरकारमा जाने तरखर गरिरहेको दल नेपाली कांग्रेसले ओली सरकारले अघि सारेको संविधान कार्यान्वयन कार्यतालिकालाई अघि नबढाउने स्पष्ट संकेत देखाएको छ । भदौभित्र स्थानीय तहको पुनःसंरचना गरी मंसिरमा चुनाव गर्ने ओली सरकारको योजनालाई प्रभावित पार्ने गरी कांग्रेस नेताहरू प्रस्तुत हुन थालेका छन् ।

आज बिहान आफ्नै संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगको काममा हस्तक्षेप गर्ने निर्णय गरेको छ । आयोगले स्थानीय निकायहरुको संख्या घटाएर ५ सय ६५ मा झार्ने गरी गृहकार्य गरिरहेका बेला कांग्रेस नेताहरूले यो व्यावहारिक नभएको भन्दै बढाउने गरी दलहरूसँग छलफल गर्ने निर्णय गरेका छन् ।

बैठकमा सभापति शेरबहादुर देउवा लगायत नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बालकृष्ण खाँड लगायत उपस्थित थिए । स्थानीय निकाय पुनःसंरचनासम्बन्धी गृहकार्यमा संलग्न एक विज्ञले भने नेताहरुको कोठे बैठकबाट पुनःसंरचना गर्ने हो भने आयोगै खारेज गर्न चेतावनी दिए । उनको भनाइ छ, ‘हामीले धेरै सुझबुझ र अध्ययन गरेर संख्या घटाउन खोजेका हौँ । केन्द्र र प्रदेशमा पनि उत्तिकै बलियो र भद्दा संरचना राख्ने, अनि तल्लो तहमा पनि टोलैपिच्छे संसद र सरकार गठन गर्ने हो भने त्यसको के अर्थ हुन्छ ? के टोलैपिच्छे संसद भवन बनाउन सकिन्छ ?’ विज्ञको काममा राजीनीति नघुसाउन उनले आग्रह गरे ।

सम्बन्धित समाचार :

‘भदौमा पुनःसंरचना प्रतिवेदन, मंसिरमा चुनाव’

स्थानीय निकाय ५ सयमा सीमित गर्ने गृहकार्य


  •  
  •  
  •