काठमाडौं, २२ मंसिर(ओएनएस)। मिस वर्ल्ड २०१८ को टप–१२ बाट नेपालकी शृंखला खतिवडा बाहिरिएकी छिन् । शनिबार चीनको सान्यामा चलिरहेको प्रतिस्पर्धामा खतिवडा अन्तिम १२ बाट बाहिरिएकी हुन् ।
५ समूहमा विभाजन गरी मिस वर्ल्डका अन्तिम ५ फाइनलिस्ट छनोट गरिएको थियो । एसिया तथा आसियाना समूहबाट नेपाल, न्युजिल्यान्ड तथा थाइल्यान्ड अन्तिम १२ मा पर्न सफल भएका थिए ।
न्युजिल्यान्ड र नेपाललाई पछि पार्दै थाइल्यान्डकी सुन्दरी निकोलिन लिम्सनिकान मिस एसिया र एसियाना घोषित हुँदै अन्तिम ५ मा पर्न सफल भएकी छिन् ।
अन्तिम ५ मा थाइल्यान्डसँगै बेलारुस, जमैका, मेक्सिको र युगान्डाका सुन्दरीहरु परेका छन् । यीनै ५ देशका सुन्दरीबाटै यो वर्षको मिस वल्र्ड घोषणा गरिने छ ।
विश्वका एक सय २१ देशका सुन्दरीहरुको सहभागिता रहेको यस वर्षको मिस वल्र्डमा शृंखला दुई अवार्ड हात पार्दै अन्तिम प्रतिस्पर्धामा छानिएकी थिइन् ।
उनी मल्टिमिडिया अवार्ड र ब्युटी विथ द प्रपोज गरी दुई अवार्ड हात पार्दै टप ३० मा परेकी थिइन् । टप ३० बाट टप २० हुँदै उनी टप १२ मा पर्न सफल भएकी थिइन् ।