केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल गरेन : संघका उपाध्यक्ष पौडेल

896
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) : नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले पर्याप्त पहल नगरेको आरोप लगाएका छन् ।

काठमाडाैँमा बुधबार अायाेजित एक कार्यक्रममा पौडेलले केसीसँग वार्ता गरेर चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि श्वेत पत्र जारी गर्न सरकारलाई सुझाब दिए । चिकित्सा शिक्षा क्षेत्रको सुधार र केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्नुपर्नेमा उनले जोड दिए ।

चिकित्सा शिक्षालाई सरकारले निजिकरण गर्न खोजेका कारण गोविन्द केसी अनशन बस्न बाध्य भएको पौडेलको आरोप थियो ।

नेपालको चिकित्सा सेवा काठमाडौं केन्द्रित भएको भन्दै उनले जुम्लामा खोलिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत सेवा समेत हुन नसकेको बताए ।

“जुम्लामा विशाल अस्पताल छ । तर ब्लड कल्चरसमेत गर्ने व्यवस्था छैन । यो सब निजीकरणका नाममा भएको कमजोरी हो ।” पौडेलले भने ।

अहिले मेडिकल कलेजको मान्यताका लागि भइरहेको चलखेल कमिसन र चन्दाका कारण भएको उनले बताए ।

“चुनावमा निजी क्षेत्रसँग चन्दा मागियो । अहिले तिनै व्यक्तिको मेडिकल कलेज जोगाउनका लागि सरकार लागिपरेको छ । अनि कसरी जनताको हितमा विधेयक बन्छ ?” पौडेलले भने ।

भ्रष्ट नेता र मन्त्रीलाई रद्दीको टोकरीमा नफालेसम्म देश विकास नहुने उनको जिकिर छ । माथेमा प्रतिवेदन किन कार्यान्वयन हुन सकेन भनेर पौडेलले प्रश्न गरे ।

नेपालमा अहिलेपनि चिकित्सा शिक्षा क्षेत्रमा निजी क्षेत्रको ८० प्रतिशत र सरकारको २० प्रतिशत मात्रै योगदान रहेको पौडेलको दाबी छ ।

पौडेलले रिपोर्टस क्लबमा भएको बहस फलदायी हुने भन्दै आजको बहसले पनि एउटा निश्कर्ष निस्कने विश्वास व्यक्त गरे । विगतमा पनि डाक्टर केसीको अनशन र मागका बारेमा क्लबका सभापति ऋषि धमलाले एजेण्डा उठान गर्दा सहमति जुट्ने गरेको पौडेलले सुनाए ।


  •  
  •  
  •