शनिबार, आषाढ १०, २०७४ | Saturday, June 24, 2017
न्युज अपडेट

गतिरोध फुकाउन संवादमा शीर्ष नेता

गतिरोध फुकाउन संवादमा शीर्ष नेता

काठमाडौं, २७ मंसिर ।
संविधान संशोधन विधेयक दर्तासँगै उत्पन्न राजनीतिक गतिरोध फुकाउन प्रमुख दलका शीर्ष नेताले संवाद सुरु गरेका छन् । संविधान संशोधन, अवरुद्ध संसद् र निर्वाचनका विषयमा प्याकेजमै सहमति खोज्ने गरी कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले औपचारिक छलफल सुरु गरेका हुन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार सवा घन्टा भएको छलफलमा दुई नेताबीच संविधान संशोधन विधेयक दर्तापछिको राजनीतिक गतिरोध फुकाउने गरी प्रमुख तीन दल छलफलमा बस्ने सहमति भएको हो । विश्वासको वातावरण तयार गर्न दुई नेताबीचको वार्ता सकारात्मक र सौहार्दपूर्ण रहेको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

‘विश्वासको वातावरण तयार गर्न दुई नेताबीचको वार्ता सकारात्मक र सौहार्दपूर्ण रह्यो,’ भेटपछि नेम्वाङले भने, ‘छलफललाई निरन्तरता दिँदै जाने सहमति भएको छ ।’

राष्ट्रपति–प्रधानमन्त्री भेट
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका लागि सबै दललाई सहमति र विश्वासमा लिएर छिटो निर्वाचन मिति घोषणा गर्न सुझाब दिएकी छन् । समसामयिक राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्न आइतबार राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति भण्डारीले त्यस्तो सुझाब दिएकी हुन् ।

‘संविधान कार्यान्वयनका लागि चुनाव आवश्यक छ, त्यसैले अहिलेको गतिरोध फुकाउने गरी पहल लिनुस्,’ राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै प्रेस सल्लाहकार माधव शर्माले नयाँ पत्रिकासँग भने, ‘सबै दललाई विश्वासमा लिएर सहमतिमा छिटो निर्वाचनको मिति घोषणा गरेर जाँदा राम्रो हुनेछ ।’ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच समसामयिक राजनीतिक परिस्थिति र संसद्को गतिरोधका विषयमा केन्द्रित रहेर सवा घन्टा कुराकानी भएको थियो ।
नयाँ पत्रिकाबाट

Comments are closed.

'
Scroll To Top