काठमाडौँको भोटमा रञ्जु ग्ल्यामर

Ranju Darsana bibekshil nepali party local election candidate 2074चार ठूला परम्परागत शक्तिहरुको जब्बर उपस्थितिबीच एक भर्खर मात्र किशोरवय पार गरेकी विद्यार्थीले काठमाडौँजस्तो राजधानी महानगरको मेयर पदमा दाबी गरिन् । उनले त्यो दाबी गर्दा उनका पछाडि कुनै ठूलो सांगठनिक सञ्जाल भएको दल थिएन । ठूलो आर्थिक स्रोत पनि उनले व्यक्तिगत तवरले परिचालन गर्ने हैसियत राख्दिनथिन् ।

उनीसँग थियो त केवल युवा जोस, जाँगर अनि एक फरक धारको राजनीतिक अभियानको थोरै ग्ल्यामर । सुरुका दिनमा उम्मेदवारी सार्वजनिक गर्दा उनको नाम चिन्ने निकै कम थिए । विद्युतीय सामाजिक सञ्चालबाट उनको नाम एकैछिनमा सहरभरि फैलिएको थियो । केही दिनपछि उनका प्रतिस्पर्धीहरुको नाम आयो । ठूला दलको ठूलै तामझाम हुनु स्वाभाविक थियो । त्यसमा रञ्जु दर्शनाको नाम र उपस्थिति झीनो देखिन्थ्यो ।

साझा पार्टीका उम्मेदवार किशोर थापाको दाबेदारी सर्वाधिक सशक्त थियो । कुनै बेलाका एसएलसी बोर्ड फस्र्ट उनी प्रख्यात इन्जिनियर पनि थिए । नेपाल सरकारको नीति निर्माणको तहमा काम गरेका विवादमुक्त काबिल पूर्वप्रशासक पनि थिए उनी । तर, उनको पछाडि पनि परम्परागत शक्तिहरुको सामना गर्न सक्ने सांगठनिक सामथ्र्य थिएन । चुनावको अघिल्लो दिनसम्म पनि उनी स्वयंसेवी अभियान बागमती सफाइमा सक्रिय थिए ।

किशोर थापा सहरका पढालेखाहरुका माझ भरोसाको केन्द्र बनेका थिए । कुनै पार्टीको चौवन्नी कार्यकर्ता नबनिसकेका बुद्धिजीवीहरु पनि उनको साथमा थिए । तर, उनका पछाडि होहल्ला गर्ने जमात निकै कम थियो । उनले धेरै परिपक्व उमेरका व्यक्तिहरुको ‘मन’ जित्न सके पनि ‘मत’ जित्न गाह्रो थियो ।

त्यसको कारण थियो, मेयर भइसकेपछि पनि उनले काम गर्न सक्छन् भन्नेमा शंका थियो । किनभने, उनी मेयर जित्दा पनि उनको पक्षमा नगर परिषदमा बहुमत हुने छैन भन्ने सहज आकलन नगरवासीहरुले गरेका थिए । उनको बहुमत नहुँदा जतिसुकै राम्रा योजना र कार्यक्रम भए पनि उनले कार्यान्वयन गर्न सक्ने छैनन् भन्ने निष्कर्षमा उनीहरु पुगे । तसर्थ, यस खालको मत परम्परागत शक्तिहरुले नै खिचे ।

Ranju-Darshanaरञ्जुका लागि एउटा सकारात्मक पक्ष के थियो भने उनको मिडिया ग्ल्यामरका कारण युवा पुस्ता बहकिएरै भए पनि भोट गर्ने पक्षमा रह्यो । अझ भन्दा परम्परागत शक्तिहरुको नालायकीलाई जवाफ दिन तयार भएको युवा पिँढी रञ्जुको पक्षमा उभियो । वास्तवमा यो मत रञ्जुले आफ्नो वैचारिक शक्ति वा व्यक्तित्वको प्रभावले आर्जन गरेको नभई युवाहरुले परम्परागत शक्ति र नेताहरुप्रति पोखेको भँडास हो ।

यसअघिका निर्वाचनहरुमा विवेकशील नेपाली पार्टीले पाएको मतको तुलनामा यो निकै उत्साहप्रद छ । अर्थात्, नेपाली राजनीतिमा वैकल्पिक शक्ति, संगठन र अभियानहरुको स्थान फराकिलो बन्दै गएको प्रमाणका रुपमा पनि यसलाई लिन सकिन्छ ।

वास्तवमा यसपटक कांग्रेस र माओवादीप्रति रुष्ट युवा पुस्ता रञ्जुतिर आकर्षित देखियो भने परिपक्व पुस्ता किशोर थापातिर । सत्तारुढ यी दुई दलको घोषित÷अघोषित गठबन्धनको प्रभाव मतदान—प्रवृत्तिमा निकै न्यून देखियो । अर्थात्, उपल्ला ओहोदाका नेताहरुको लेनदेनलाई तिनका अनुगामीहरुले अनुमोदन÷समर्थन गर्नु बाध्यता ठानेनन् ।

यति मात्र होइन, यी दुई सत्तारुढ दलको मतको निकै सानो अंश मात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाएको देखिन्छ । यसको अर्थ हो, एमालेले पनि जनताको मन जित्न निकै कोशिस गर्नुपर्छ ।

पुराना राजनीतिक दलहरुमा हावी भएको सत्ता स्वार्थ, स्वेच्छाचारीपन र अधिनायकवादी÷सामन्तवादी सोच र प्रवृत्तिको विरुद्धमा जनमत बन्दै गइरहेको दृष्टान्त पनि हो, रञ्जुको मत । संगठनका विचार र मूल्य मान्यतालाई व्यक्तिगत स्वार्थको जाँतोमा धूलीसात् पार्न तयार बन्ने पुराना दल र नेताहरुलाई गतिलो झापड दिन पनि रञ्जुको पक्षमा मतदान भएको छ ।

त्यसो त ती परम्परागत शक्तिहरुलाई सुध्रिनका लागि अवसर पनि हो यो । पुरानै पाराले अघि बढ्न खोजेमा अब तिनको अस्तित्व बाँकी रहने छैन भन्ने चेतावनीपूर्ण मत यसपटक अभिव्यक्त भएको छ, रञ्जुको जबरजस्त समर्थनमार्फत् ।

आगामी दिनमा रञ्जुहरुको उपस्थिति थप बलियो र विस्तारित बन्दै जाने यसपालिको मत प्रवृत्तिले देखाउँछ । ठूला र मूलधारका भनिने राजनीतिक दल र तिनको नेतृत्व जनअपेक्षाअनुरुप चल्न सकेन भने अब उनीहरुको हैसियत दिउँसै बत्ती बालेर खोल्नुपर्ने हुन सक्छ । चेतना भया ।

SHARE