‘अझै पटक पटक झस्किन्छु, हरक्षण पुरानै दृष्य आइरहेको छ’

613
  •  
  •  
  •  

manish kumar shahविराटनगर, १७ बैशाख(ओएनएस) : सिरहास्थित ह्वाइट हाउस बोर्डिङ स्कुलबाट एसएलसी परिक्षा दिएका उनलाई विज्ञान विषय अध्ययन गर्ने रूची थियो । एसएलसी परिक्षा सकिएपछि वृजकोर्ष गर्न काठमाडौ जाने सोच बनाए । बैशाख ४ गते सिरहा गोलबजार नगरपालिका वडा नं. २ का १६ बर्षिय मनिषकुमार शाह उच्चशिक्षा हासिल गर्न सोच बनाउदै सँगसँगै एसएलसी दिएका अन्य तिनजना साथीसँग काठमाडौ हानिए ।

काठमाडौ तीनकुने गैरीगाउमा दाइको डेरामा बसेका थिए उनी । काठमाडौ गएको दोस्रो दिन नै तीनकुनेस्थित एबिसी इन्स्टिच्युटमा विज्ञान विषयको तयारी कक्षा लिन सुरु गरे । काठमाडौ गएको पहिलो शनिबार पढ्न जानु पर्दैन थियो । साथीहरुसँग छुट्टीको समयमा घुम्न जाने सोच बनाए ।

शनिवार बिहान सिराहाबाटसँगै गएका साथीहरू दिपक साह, सन्तोष शर्मा, नीरज यादवसँग उनी शान्तिनगरबाट गाडी चढेर रत्नपार्कको फन पार्क हेर्न गए । फनपार्क घुमेपछि चारै जना भृकुटीमण्डपमा सपिङका लागि गए । ‘साथीहरू सपिङ गर्न जाउ भने’, मनिष भन्छन्, ‘सपिङ गयौ साथीहरुले सामान किने ।

सपिङ सकेपछि चारै जनालाई कामाडौ सहर धरहराबाट हेर्न मन लाग्यो । १२ बज्नै लागेको थियो धरहारा पुग्दा । टिकट काटे र धरहरा चढे । शनिवारको छुट्टी भिड थियो पर्यटकीय धरोहर धरहरा । भीड छिचोल्दै उनीहरु धरहरा चढे ।

नौ तल्लाबाट काठमाडौ सहरलाई आखाले भ्याएसम्म नियालेर हेरे । त्यसपछि बिस्तारै उनीहरु ओर्लिन थाले । ओर्लिनलाई पाइलामात्र के चालेका थिए । नौ तल्ले धरहरा हल्लिन थाल्यो । धरहरा चढेकामा कोलाहल मच्चियो । भुइँचालो आयो भन्दै चिच्याउन थाले ।

मानिसपनि आतिदै तल झर्न थाले । उनीसँगै निरज थिए । दिपक र सन्तोष भने दुई खुटकिला तल थिए । आतिदै झर्दा ९ र ८ तल्लाको बीचमा पुगेका थिए उनीहरू । कोलाहल रोकिएको थिएन । उनी चढेको धरहरा एक्कासी भुईमा बजारियो । उनी पनि धरहरा सँगसँगै बजारिए ।

भुइँचालो आएपछि होसले ठाउँ छाडिसकेको थियो । बाच्ने आशा मारिसकेका थिए उनले । धरहरा कामी हरेको थाहा छ उनलाई ।
त्यसपपछि टाउकोमा इँटाका टुक्रा अनि चोटै चोटले ढाकेको थियो उनको शरिर । शनिबारको विहान ११:५६ मा आएको महाभूकम्प धरहरासँगै ढलेर बाँचेका उनले भने,‘दोस्रो जुनी पाएछु ।’

धरहरा ढल्दा जिवितै उद्धार गरिएका मनिसले सुनाए, ‘सँगै गएका साथी देखिन । पछाडी मरेको थाहा पाए । बाचुला जस्तो लागेको थिएन् ।’
उनीसँगै धरहरा चढेका साथी धरहरा सँगसँगै नउठ्ने गरी ढले । उनीसँगै धरहरा गएका साथीको अन्तिम हेराइ बन्यो नौ तले धरहरा ।
सँगै गएका साथीले ऐया भन्नपनि पाएनन् । भाग्यले उनी बाँचे ।

धरहरा ढल्नै बितिकै नजिकै रहेको प्रहरी र सेनाको टोली उद्धारकालागि आइपुगे । हतार हतार उनलाई उठाएर विर अस्पताल पुर्याए ।
न्युरो अस्पताल विराटनगरमा उपचार गराइरहेका उनले शनिबारको घटनालाई सम्झदै भने, ‘धरहरासँगै ढले उठन खोजे तर सकिन् । प्रहरीले आएर उठाएर लगे । छेउछाउका मान्छे छटपटाइरहेका थिए ।’

वीर अस्पतालमा लगेर उनको उपचार सुरू भयो । वीरको आकस्मिक कक्ष कोलाहलमय थियो । त्यही भीडमा थिए, मनिष । अस्पतालबाट काठमाडौमै भएका दाजुलाई खबर गरे । त्यसपछि घरमा ।

घाइतेहरु अस्पताल आउने क्रम बढदै थियो । उपचार नपाएर धेरै छट्पटाइरहेको देखिरहेका उनका दाजुले घरमा फोन गरे । घर सिरहाबाट काकाले एम्बुलेन्स लिएर आउने बचन दिए । शनिबार राति हिडेको एम्बुलेन्स भोलिपल्ट आठ बजे वीर अस्पताल पुग्यो ।

वीरबाट मनिशलाई सिधै विराटनगर स्थित न्यूरो अस्पताल ल्याए । सोमबार न्यूरो अस्पताल ल्याइएका मनिशले भने, ‘अझै पटक पटक झस्किन्छु । हरक्षण पुरानै दृष्य आइरहेको छ ।’

पाँच बर्ष देखी सँगैसँगै पढेका साथीले आफ्नो साथ छाडेर गए भन्ने सपना जस्तै लाग्छ उनलाई । उनले भने, ‘सँगै घुम्न गएका साथी मरे भन्दा विश्वास नै लाग्दैन ।’

उनको शरिर भरी चोटै चोट लागेको छ । दाहिने हात, दुईवटा करङ भाँचिएको छ । बुधबार न्युरो अस्पतालको वार्डमा भेटिएका उनले भने, ‘मृत्युलाई नजिक देखी हेरे । अप्रेशन गर्नु पर्छ भनेका छन् डाक्टरले । अब काठमाण्डौ जान्न ।’ घाइते भएपछि आफ्नो पढाइमा एकबर्ष ब्रेक लागेको उनले गुनासो गरे ।

अस्पतालमा भेटिएका उनका काका कामेश्वर साहले काठमाण्डौमा राम्रो उपचार हुन नपाएपछि न्युरो अस्पताल ल्याएको बताए । कामेश्वरले भने ‘ पढनकोलागि गएको छोरो यस्तो भएर आयो । अव काठमाण्डौ पठाउ दिन यतै पढाउछु ।’ सरकारले भुकम्प पिडितको उपचार निशुल्क गरेको छ अरे । उनले भने ‘काठमाडौमा पनि मैले पैसा तिरे । यहा निशुल्क हुन्छ की हदैन् ?’

मनिशको उपचार गरिरहेको डा. यमबहादुर रोकाले धरहराबाट झरेका उनको टाउकोमा रगत जमेको बताए । उनले भने, ‘मनिशको टाउकोभित्र रगत जमेको छ । औषधीले दिइरहेका छौ । क्रमिक रुपमा सुधार हुँदै छ । जाती नभए अप्रेशन गर्नु पर्छ ।’ उनले मनिशको स्वास्थ्यमा निकै सुधार आइरहेको बताए । उनले थपे, ‘हामीले उपचार गरीरहेका छौ । पहिलेको तुलनामा किनै सुधार आएको छ ।’


  •  
  •  
  •