निषेधित क्षेत्रमा मदिरा बिक्रीवितरण गर्ने १९ नियन्त्रणमा

38
  •  
  •  
  •  

रारा, २३ मंसिर(ओएनएस) । मदिरा निषेधित नगरपालिका क्षेत्रभित्र मदिरा सेवन, उत्पादन, बिक्री र पैठारी गर्ने १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार राति सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर सिंह र जनपथ प्रहरी नायब उपरीक्षक राजेन्द्रबहादुर रेग्मीको नेतृत्वको संयुक्त गस्तीले जिल्लाको छायाँनाथ रारा नगरपालिका–१ र २ गमगढी बजार क्षेत्रमा मदिरा सेवन, उत्पादन र ओसार पसारमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा तीन ग्रामीण पहुँच कार्यक्रमका कर्मचारी, एक जिल्ला आयुर्वेद कार्यालयका कर्मचारी, एक सोरु गाउँपालिकाका वडाध्यक्ष, एक नेपाल विद्यार्थी संघ मुगुका कोषाध्यक्ष, दुई मदिरा उत्पादक रहेका छन् ।

मदिरा निषेधित नगरपालिका घोषणा गरिएपछि मदिरा उत्पादन, सेवन, बिक्री र ओसार–पसारमा स्थानीय सरकारको सहकार्यमा प्रहरीले कडाइ गर्दै आएको छ ।

नियन्त्रणमा लिइएकाले सार्वजनिक निकायबाट गरिएको घोषणा तथा आदेश अवज्ञा गरी मदिरा उत्पादन, ओसार–पसार तथा सेवन गरेको पाइएकाले उनीहरुलाई नियन्त्रणमा आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •