बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

तीन बर्षमा लोडसेडिङ अन्त्य ! कसरी ?

तीन बर्षमा लोडसेडिङ अन्त्य ! कसरी  ?

रक्षा रेग्मी

 

काठमाडौं,६ साउन (ओएनएस) : सरकारले आगामी ३ बर्षमा देशबाट लोडसेडिङ अन्त्य गर्ने दावी गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक बर्ष २०७१÷०७२ को बजेट सार्वजनिक गर्दै तीन बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए । बर्षायाममा समेत दैनिक आठ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा तीन बर्षमा लोडसेडिङ अन्त्य हुन्छ भनेर धेरैलाई पत्याउन गाह्रो भएको छ ।

तर, यस क्षेत्रका विज्ञहरु भने सरकारको इच्छाशक्ति भएमा लोडसेडिङ अन्त्य गर्न सम्भव भएको बताउँछन् । यस अवधिभित्र सार्वजनिक क्षेत्रका माथिल्लो तामाकोसी, कुलेखानी तेस्रो ,चमेलिया र माथिल्लो त्रिशुलीलगायत जलविद्युत आयोजना सञ्चालनमा आउने हुँदा योजना सफल हुने संकेत देखिएको उर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले बताए । यी आयोजनाबाट कूल ५ सय ६० मेगावाटको विद्युत उत्पादन हुने बताइएको छ ।

धेरै आयोजनाहरु यस अवधिभित्र सम्पन्न हुने भएकोले पनि ३ बर्षसम्ममा लोडसेडिङ अन्त्य हुने प्रवल सम्भावना रहेको उनको तर्क छ । निजी क्षेत्रबाट निर्माणाधीन ४२ ओटा आयोजना पनि सो अवधिमै सम्पन्न हुने अधिकारी बताउँछन् । निजी क्षेत्रका यी आयोजनाहरुबाट कुल ६ सय २८ मेगावाट विद्युत उत्पादन हुने अधिकारीले जानकारी दिए ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न भएपछि बर्षयाममा निर्यातका लागि अतिरिक्त विद्युत उपलब्ध हुने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था,नेपाल (इपान) का अध्यक्ष खड्क बहादुर विष्ट बताउँछन् । माथिल्लो तामाकोसी निर्माणमा ६५ प्रतिशत काम सकिसकेको उनले जानकारी दिए । त्यस्तै भारतको सिमा नजिकका ठाउँहरुमा त्यहाँबाट आयात गरिएका विजुलीले पुग्ने भएकोले तीन बर्षभित्र लोडसेडिङ अन्त्यको योजना सफल हुने उनको विश्वास छ ।

त्यसैगरी बजेटमा सुख्खा मौसममा लोडसेडिङलाई शून्यमा झार्न हाल निर्माणाधीन ढल्केवर–मुजफ्फरुिरलगायत अन्तरदेशिय प्रसारण लाइनमार्फत विद्युत आयात तथा निर्यातको व्यवस्था गरिएको छ ।

‘खिम्ती–ढल्केवरको निर्माणकार्य सुरु भइसकेको छ, उर्जा मन्त्रालयका प्रवक्ता अधिकारीले भने निर्माणाधीन ३३ ओटा १ सय ३२ केभी तथा अन्य प्रसारण लाइनहरुको कार्य पनि अघि बढाउन लागेको छ ।’ बजेटमा आगामी तीन बर्षभित्र प्रसारण लाइन पुग्नसक्ने सबै स्थानमा विद्युतीकरण गरिने पनि बताइएको छ । जलविद्युत आयोजना निर्माणको कार्य बढ्दै जाँदा उर्जाको खपतमा बार्षिक ८० मेगावाटले बृद्वि भएको छ ।

बजेटले विद्युत उत्पादन, प्रसारण लाइन निर्माण वितरण प्रणालीमा सुधारलगायतका लागि ३७ अर्व रूपैयाँ विनियोजीत गरी नेपालको समग्र आर्थिक विकासमा टेवा पु¥याएको विष्टले जानकारी दिए । त्यसैगरी काठमाडौं उपत्यकाको लोडसेडिङ न्यूनीकरण गर्न आगामी आवभित्र सम्पन्न गर्ने गरी २५ मेगावाट क्षमताको सौर्य उर्जा प्लाण्ट जडान गरिने बजेटमा उल्लेख छ । ट्रान्समिसन लाइन समयमै बन्न सकेन भने यस्ता आयोजना सञ्चालनमा आउन ढिला भएको अध्यक्ष विष्टले बताए ।

 

Comments are closed.

'
Scroll To Top