लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा, वेष्टह्याम पराजित

48
  •  
  •  
  •  

काठमाडौं, १३ फागुन (ओएनएस) : वेष्टह्याम युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा वेष्टह्याम ४–१ को गोल अन्तरले पाखा लगाउँदै लिभरपुल म्यान्चेष्टर युनाइटेडलाई पछि पार्न सफल भएको हो।

लिभरपुलका लागि इम्रे क्यान, मोहम्मद सलाह, रोबर्टो फिरमिनो र साइडो मानेले १–१ गोल गरे। खेलको २९ औं मिनेटमा सलाहको पासमा इम्रे क्यानले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए, भने ५१ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले २–० को अग्रता लियो।

५७ औं मिनेटमा फिरमिनेले लिभरपुलका लागि तेस्रो गोल थपे। तर ५९औं मिनेटमा मिचाइल एन्टोनीले वेष्टह्यामका लागि गोल गर्दै लिभरपुलको अग्रता ३–१ मा छोट्याए। खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको लिभरपुलले ७७ औं मिनेटमा चौथो गोल गर्‍यो।

जितसँगै लिभरपुल २८ खेलबाट ५७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यान्चेष्टर युनाइटेड ५६ अंक सहित तेस्रो स्थानमा छ।


  •  
  •  
  •