शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

चिसो मौसममा ज्येष्ठ नागरिकको यसरी हेरचाह गरौं

चिसो मौसममा ज्येष्ठ नागरिकको यसरी  हेरचाह गरौं

चिसो मौसम सुरु भइसकेको छ । अबको करिब चार महिना घरमा रहेका ज्येष्ठ सदस्यहरूलाई चिसोले बढी सताउँछ । वृद्ध उमेरमा रोगप्रतिरोधात्मक शक्ति पनि कमजोर हुने कारण जाडो मौसममा उनीहरूलाई विभिन्न समस्या देखापर्न सक्छ ।

त्यसैले यस्तो मौसममा घरमा रहेका ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ । ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन नदिन घरका सदस्यहरूले अपनाउनुपर्ने सामान्य उपायबारे सहारा केयर सेन्टरकी कल्पना बयजूका सुझाब यस्ता छन्ः  

जाडो मौसममा ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यकता घामको हुन्छ । त्यसैले घरमा सबैभन्दा लामो समय घाम लाग्ने स्थान ज्येष्ठ नागरिकहरूलाई छुट्याउनुपर्छ । 

घरैमा बस्ने ज्येष्ठ नागरिकलाई दैनिक घाममा राखेर तेल मसाज गर्नैपर्छ । जसले गर्दा उनीहरूलाई चिसोबाट लाग्ने रोगहरू खुट्टा, हात, जिउ दुख्ने तथा सुन्निनेलगायतका समस्या हुन दिँदैन । 

ज्येष्ठ नागरिकको व्यक्तिगत कोठा पनि सकेसम्म घाम लाग्ने दिशातर्फ छनोट गर्नुपर्छ । त्यस्तो स्थान उपलब्ध नभएमा कोठालाई सकेसम्म न्यानो बनाउनुपर्छ ।

उनीहरूलाई अहिले बजारमा सजिलै पाइने ब्ल्याङ्केटको कपडाबाट उत्पादन गरिएको कपडा लगाइदिँदा राम्रो हुन्छ । यस्तो कपडा ज्यादै न्यानो हुन्छ । त्यस्तै, फाइबरको सिरक उपयोग गर्नु पनि राम्रो हुन्छ । 

ज्येष्ठ नागरिकलाई नुहाउन हरेक मौसममा तातो पानी नै प्रयोग गर्नुपर्छ । अझ जाडोमा त बिर्सेर पनि चिसो पानी प्रयोग गर्नु हुँदैन । बिहान मुख धुने, ब्रस गर्नेलगायतका सामान्य काममा पनि तातो पानी नै प्रयोग गर्नुपर्छ ।

अशक्तहरूलाई भने बेड केयर गरेर तातो पानीले शरीर पुछेर सफा गर्दा पनि हुन्छ । अन्य अवस्थामा सातामा एकपटक नुहाउँदा हुन्छ ।

जाडो मौसममा खाना, नास्ता चिसो दिनु हुँदैन । शरीर तताउन उनीहरूको चाहनाअनुसार भेज÷ननभेज सुप बनाएर खुवाउँदा शरीरलाई ऊर्जा प्राप्त हुन्छ ।

दिसा–पिसाब आएको भन्न नसक्ने बिरामीलाई जाडो मौसममा डाइपर प्रयोग गर्नुपर्छ । अन्यथा, चिसो लाग्ने सम्भावना बढी हुन्छ ।  

खुट्टामा मोजा, पन्जा तथा टोपी लगाउनु भुल्नु हुँदैन । राति सुत्दा अन्य टोपी खस्ने भएकाले बाँधेर अड्काउन मिल्ने टोपी प्रयोग गर्नुपर्छ ।

अल्जाइमर, डिमेन्सिया भएका बिरामीबाहेक अन्य ज्येष्ठ नागरिकलाई हटवाटर ब्याग प्रयोग गर्न दिन सकिन्छ । यी बिरामीले बिर्सेर हटवाटर ब्याग खोलिदियो भने पोल्न सक्ने कारणले सजग हुनुपर्छ । 

साभार : नयाँ पत्रिका दैनिकबाट

Comments are closed.

'
Scroll To Top