बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

‘राष्ट्रियता र जनताविरुद्ध कोही जान्छ भने पार्टीमा बसिरहनु आवश्यक हुँदैन’

रुस किन विखण्डनमा गयो, हाम्रो नेतृत्वले ख्याल गरोस्

lekh raj bhattaअहिले सीमांकनको सन्दर्भमा टोपबहादुर रायमाझीजीले आफ्ना विचार राख्दा पार्टीभित्र र बाहिर तरंग पैदा भएको छ । र, कतिपयले भन्दै छन् उहाँले यस्तो विचार राखेर पार्टीको लाइनबाहिर जानुभयो । कतिले भन्दै छन्, उहाँले पार्टी छाड्ने तयारी गर्दै हुनुहुन्छ । के पार्टीमा फरक विचार राख्दैमा पार्टी छाडिहाल्नुपर्छ त ? उहाँले पार्टी छोडिहाल्नु हुन्छ त ?

मेरै सन्दर्भमा पनि अनेकखालका यस्तै हल्ला चलाइएका छन् । यो किन भइरहेको छ भन्दा यसका खास कारण छन् ।
पहिलो कारण, हाम्रो पार्टीभित्र कयौं प्रवृत्ति, चिन्तन र गलत सोच बोकेका मान्छेहरू छन् । ती प्रवृत्तिका विरुद्ध लड्दा लेखराजले पार्टी छोड्दै छ भनेर हल्ला फिजाइन्छ । दोस्रो कुरा, हाम्रो पार्टीभित्र सही विचार र आलोचनालाई पचाउने शक्ति कमजोर हुँदै गएको छ ।

हिजो हामी आलोचनालाई पचाउथ्यौं, आत्मआलोचना गथ्र्यौं । आफ्ना कमीकमजोरीहरूको समीक्षा गथ्र्यौं । जब हामी शान्ति प्रक्रियामा आयौं । र, त्यसअन्तर्गत संसदीय परिपाटीलाई आत्मसात् गरिसके पनि हामीले त्यसको विधि, पद्धतिलाई पनि अँगाल्न सकेका छैनौं । हिजो त हाम्रो लेनिनवादी संगठनात्मक सिद्धान्त र त्यसका विधि, पद्धतिलाई पनि अँगाल्न सकेनौं । त्यसलाई विस्तारै छोड्दै गयौं । र, अराजकताको स्थिति पैदा भयो । अनि सबै थोक अरुको टाउकोमा हालेर आफू चोखो बच्ने प्रवृत्ति हावी हुँदै गयो ।

अर्काे कुरा अहिले नेपालमा पनि सामाजिक सञ्जालको विकाससँगै दुरुपयोग पनि बढ्दो छ । त्यही भएर पनि जसलाई मनमा जे लाग्यो त्यही सामाजिक सञ्जालमा फिँजाउने प्रवत्ति बढ्दै गएको छ । त्यसलाई कसरी परास्त गर्ने भन्ने चुनौती छ ।
हाम्रो पार्टीमा भिन्न विचार राखेपछि यो त पार्टी छोड्न लाग्यो । फलानो गुटको ढिस्कानो गुटको अथवा गुट बनाउन लाग्यो भन्ने आरोपप्रत्यारोप आइरहेका छन् ।

मैले संघीयताको विषयमा भिन्न कुरा राखेँ । सीमांकन, त्यसको विशेषता र नेपालको परिप्रेक्ष्यमा हाम्रो अध्ययन पुगेन भन्ने कुरा राखेँ । त्यसैले पनि कहीँ न कहीँ त्यसलाई पचाउन नसक्ने प्रवृत्तिले हाम्रो पार्टीमा नराम्रोसँग घर गरिरहेको छ । व्यक्ति र पात्र त जोसुकै पनि हुन सक्छ तर प्रवृत्तिको कुरा प्रमुख हो । त्यो सोच र प्रवृत्ति आज एउटा व्यक्तिमा छ भने भोलि अर्काे व्यक्तिमा जान्छ ।

सही कुरा बोल्दा वा सत्य कुरा यो हो भनेर भन्दा पचाउन नसक्ने प्रवृत्ति हाम्रो पार्टीमा हावी हुँदै गएकोमा बढो चिन्तित तुल्याएको छ । अहिले हाम्रो पार्टीभित्र यति महत्वकांक्षा बढेको छ कि उसको स्वार्थमा थोरै धक्का लाग्ने खालको भयो भने त्यसलाई आक्रमण गरिहाल्ने प्रवृत्ति देखापरेको छ । र, त्यो अराजक, आत्मकेन्द्रित र स्वार्थउन्मुख छ । त्यही प्रवत्तिले नै सही विचार, सही दृष्टिकोण र सही नीतिलाई आक्रमण गरिरहेको छ ।

सही नीति र विचारलाई आक्रमण गर्ने भनेको त गलत विचारले हो । त्यही भएर हाम्रो पार्टीभित्र अहिले एक खालको ‘लम्पट’ चरित्रको विकास भएको छ । त्यही प्रवृत्तिले आज पार्टीलाई आक्रान्त पारिरहेको देख्दा कहिलेकाहीँ बेचैन पनि हुन्छु ।पार्टीभित्र यो ठीक, यो बेठीक हो भनेर विचार राख्नासाथ अनेक हल्ला चलाउनेहरुको स्वार्थ के हो भन्ने स्पष्टै छ । जसले पार्टीको स्वार्थ, मुलुकको स्वार्थभन्दा आफ्नो स्वार्थलाई सर्वोपरि ठान्छन्, तिनले यस्तै हल्लाको खेती गरिरहन्छन् ।

आज नेपालका सन्दर्भमा हामी जे कुरा गरिरहेका छौं, त्यसरी अगाडि बढ्ने हो भने कहाँ पुगिन्छ ? सोचौँ । बाइसे चौबीसे राज्यमा जाने हो त ? 

यसको सोझो उत्तर छ, हाम्रो लक्ष्य त्यो पक्कै होइन । केन्द्रीकृत राज्यका अधिकारलाई जनतासम्म विकेन्द्रित गर्ने भनेर हामीले संघीयताको बहसको आरम्भ गरेका हौं । 

अहिले ७ नम्बर प्रदेशका अल्पसंख्यक हुन् वा बहुसंख्यक, सबै नै अधिकारबाट वञ्चित छन् । हाम्रो लडाइँ कुनै जातिविशेषसँग नभई अधिकारका निम्ति केन्द्रसँग हो । हिजोदेखि हामी मिलेर बसेका थियौं, अब पनि मिलेर बस्न दिनुप¥यो भन्नेमा हामी स्पष्ट छौँ । जबरजस्ती अन्तर्विरोध किन ? पार्टीभित्र होस् वा बाहिर, अन्तरसंघर्ष त भई नै रहन्छ । तर, सही विचार र सही मुद्दा उठान गर्दैमा पार्टीको विरोधी मतका रुपमा बुझ्नु गलत हो ।

यही सोच र प्रवृत्ति बोकेर हिँडिरहेसम्म अर्काे पार्टी खोल्नुभयो भने पनि अन्तरसंघर्ष हुन्छ नै । सधैँ एकरुपता, एकमन हुन सक्दैन । हरेक पार्टीभित्र अन्तर्विरोध र अन्तरसंघर्ष छ । जहाँ भिन्न मत हुन्छ, त्यहीँभित्र लड्ने हो । पार्टीभित्रै आफ्नो विचारको पक्षमा अड्ने हो । कुनै समयमा पार्टी नै टिकाउन वा बनाउन सकेनौं, विघटन, बिसर्जनतिर गयो भने त्यतिबेला के हो विकल्प, सोच्नुपर्छ ।
हाम्रो विचारको लडाइँलाई लिएर ‘लेखराज छिट्टै पार्टी खोल्दैछ’ वा अर्को कुनै नेतालाई यसरी गरी आरोपित गर्ने कुरा राजनीतिक चरित्रहत्या गर्ने षड्यन्त्र हो ।

मैले हिजोदेखि भन्दै आएको कुरा हो, जनता र राष्ट्र भन्दामाथि कुनै पनि पार्टी हुँदैन । त्यो कुरा त अहिले पनि भन्छु । यदि राष्ट्रियता, राष्ट्र र जनताविरुद्ध कोही जान्छ भने पार्टीमा बसिरहनु आवश्यक हुँदैन ।

पार्टी भनेको त हिजो हामीले बनाएको हो । फेरि बनाइन्छ । यही कुरालाई बंग्याएर कसैले पार्टी छोड्न लाग्यो भन्छ भने त्यो सरासर उसको मनको आवेग हो भन्ने बुझ्नुपर्छ ।

प्रचण्डसँग मेरो सम्बन्ध
पार्टी अध्यक्ष प्रचण्डको मेरो सम्बन्धलाई लिएर पनि बेलाबेला चर्चा हुने गर्छ । पार्टी अध्यक्ष प्रचण्डलाई दबाब र घुर्की दिने गरेको चर्चा पनि हुन्छ । वास्तवममा मैले प्रचण्डसँग कुनै व्यक्तिगत स्वार्थका कारण सहयात्रा गरेको होइन । २०३७ सालदेखि पार्टी अध्यक्षसँगै एउटै कमिटीमा छु । के प्रचण्डले भन्न सक्नुहुन्छ, ‘लेखराज भट्टले योयो स्वार्थ लिएको छ’ भनेर ?

हालको ७ नम्बर प्रदेश एवं विगतको सुदूरपश्चिमले जुन त्याग, तपस्या र बलिदान दिएको छ, त्यसको मूल्य जनताले पाउनुपर्छ’ भनेर मैले अडान लिँदै आएको छु ।

म जीवित रहुन्जेल यो अडानबाट टसमस हुन्न । कि त सुदूरपश्चिमले अहिलेसम्म कुनै विभेद र अत्याचार भोगेको छैन भनेर कसैले मलाई सहमत गराउन सकोस् । यही नेपालको एउटा भूगोल असाध्यै सम्पन्न, अनि अर्को भूगोलचाहिँ साँझबिहान खान र झाडापखालाको उपचार पाउनबाट वञ्चित भएको छैन भनेर मलाई कसैले प्रमाण देओस् ।

यसैलाई कसैले घुर्की देख्छ भने पनि देखोस् । र, म अहिले पनि के भन्छु भने राज्य विस्तारपछि सुदूरपश्चिम नेपालको भूगोलभित्र आएको २५/२६ वर्ष मात्र भयो । त्यहीबेलादेखि सुदूरपश्चिम र त्यहाँका जनताले विद्रोह मात्र गरिरहेका छन् । किन ? यसको अन्तर्यमा पस्न कसैले चाहेको छ ?

सुदूरपश्चिमको विद्रोही विगत
तपाईँले इतिहास राम्रोसँग केलाउनु भयो भने १९०६ सालमा अछामको जयगढी (मान्यगढी)मा बलदेव शाहले गरेको विद्रोह हेरौँ । त्यसपछि राजा जयपृथ्वीबहादुर सिंहले गरेको विद्रोह सम्झिऊँ । त्योभन्दा पनि अगाडि केन्द्रीय राज्य डोटीका अन्तिम राजा दीप शाहीले गरेको विद्रोह । उनले कुमाउ, गडवालका नेता अथवा सेनापति हर्षदेव जोशी र अंग्रेजहरूसँग संयुक्त मोर्चा बनाएर गोर्खालीका विरुद्ध लडेका थिए । त्यो विद्रोहमा त्यहाँका जनताले ठूलो बलिदान गर्नुपरेको थियो । र, काली–कुमाउको युद्धले गोर्खालीहरू परास्त भएर सुगौली सन्धिमा आउनुपरेको थियो ।

दशरथ चन्द, भीमदत्त पन्त, ओमजङ्गबहादुर सिंहदेखि २०२८, २०३६ र २०४६ सालको आन्दोलन । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन आदिमा सुदूरपश्चिमको योगदान कहाँनिर कमी छ ? राजनीतिक परिवर्तन र देश विकासको निमित्त सुदूरपश्चिमले खेलेका भूमिका जुन छन्, त्यो देनका निमित्त हामीले हाम्रो अधिकार पाउनुपर्छ । यो आन्तरिक उपनिवेशको अन्त्य हुनुपर्छ भन्ने कुरा मैले बारम्बार बाहिर र भित्र भनेको छु ।

र, हामीले पार्टीभित्र जुन त्याग र बलिदान गरेका छौं, त्यो अनुसारको सुदूरपश्चिम अहिलेको ७ नम्बर प्रदेशको मूल्यांकन भएन भन्ने कुरा भन्दै आएको छु । मूल्यांकन भएन भन्ने कुरालाई कसैले घुर्की, स्वार्थ बुझ्छ भने मरो भन्नु केही पनि छैन । तर, व्यक्तिगत रुपमा मलाई यो चाहियो भनेर अध्यक्ष प्रचण्ड वा पार्टीसँग भनेको छु भने प्रमाण ल्याउनुपर्याे ।

सुदूरपश्चिम ऐतिहासिक कालदेखिको हो । त्यहाँ इतिहास, संस्कृति, भाषा, स्रोतसाधन र पहिचान छ । त्यसको अर्थ पनि छ । यो क्षेत्रको छुट्टै भाषा, संस्कृति छ, आर्थिक आधारहरू छन्, इतिहास छ । जुन आधारमा हामीले संघीयताको परिकल्पना ग¥यौँ, ती सबै आधार विद्यमान छन् । त्यही भएर नै सुदूरपश्चिम क्षेत्र सिंगो रहनुपर्छ भन्ने मेरो जिकिर हो ।

पार्टीले जायज कुरा नसुन्ने र अध्ययन नै नगर्ने कुरा मेरो दोष होइन । हिजोदेखि हामी राज्यको विद्रोही भएकाले पार्टीभित्र पनि हामीलाई त्यही रुपमा हेरिएको छ । हाम्रो त्याग, तपस्या र बलिदानको सही मूल्यांकन भएन भन्ने विचार राख्दा त्यसैमाथि प्रहार गर्ने प्रवृत्ति पार्टी र देशकै लागि खतरनाक छ । पार्टी भनेको अनेकताभित्रको एकता हो । त्यसभित्र मूल नेतृत्वसँग मेरो एउटै विषयमा मात्र अन्तर रहँदै आएको छ ।

म अझै भन्छु, संघीयताको सीमांकनको विषयमा हाम्रो अध्ययन पुगेन । रुसको जस्तो हुबहु नेपालमा ल्याउन खोज्यौं, त्यो कदापि सम्भव र व्यावहारिक हुँदैन । नेपालको वस्तुस्थिति र भूराजनीतिलाई ख्याल गरिनुपर्छ । यहाँको जातीय समीकरण र सांस्कृतिक सम्मीश्रणलाई हेरिनुपर्छ ।

लेनिनले जातीय सवालमा आत्मनिर्णयको कुरा गर्दा रोज लक्जम्बर्गले नै खारेज गरिदिएको कुरा हो । यसका निम्ति आजसम्म बहस गरिरहनु समय खेर फाल्ने कुरा मात्र हो । अन्ततः रुसको हालत के भयो ? विखण्डन भयो । लेनिन सफल भए कि रोजाको अनुमान मिल्यो ? स्पष्ट छ, लेनिन संघीयताको मुद्दामा गलत सावित भए । इतिहासले प्रयोगबाट स्थापित गरेको प्रमाणलाई बेवास्ता गरी मुलुकलाई कतातिर डोर्याउन खोजिँदै छ ?

(नेकपा (माओवादी) केन्द, प्रदेश नम्बर ७ का इन्चार्ज भट्टसँग यमबहादुर बमले गरेको कुराकानीमा आधारित)

Comments are closed.

'
Scroll To Top