प्रचण्डलाई जिताउने जिम्मा लिएको छुः पोखरेल

चितवनका ९ वटै क्षेत्रमा वाम उम्मेदवार विजयी हुने दावी

135
  •  
  •  
  •  

चितवन, १२ मंसिर :
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन् ।

एमाले चितवनका अध्यक्ष समेत रहेका पोखरेलले विगतमा कांग्रेसले तीन पटक बहुमत ल्याउँदा पनि देशको हितमा काम गर्न नसकेको बताउँदै अब वामपन्थीलाई नै जनताले बहुमत दिने दाबी गरे । ‘नेपाली जनता एक पटक वाम गठबन्धनको शासन हेर्न आतुर छन’ उनले भने ‘चितवनका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ क्षेत्र वाम उम्मेदवारले जित्नेछन् । चितवनको जस्तै तह देशभर आउनेछ ।’

आवधिक निर्वाचन, विधिको शाषन, स्वतन्त्र न्यायपालिका र मानवअधिकारको रक्षाका विषयमा आफूहरु प्रतिवद्ध रहने उनले बताए । लोकतान्त्रिक मूल्य र मान्यताका विषयमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे ।

चितवन जिल्लाको विकासका लागि आफूले धेरै काम गरेको उको दावी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजनेताको रुपमा व्याख्या गर्दै उनले प्रचण्डलाई जिताउन लोकतान्त्रिक शक्ति समेत लागि परेको दाबी गरे । प्रचण्डलाई जिताएर चितवनलाई औद्योगिक नगरी र मेडिकल सिटीको रुपमा विकास गर्ने उनको भनाई थियो ।

एमालेका शतप्रतिशत कार्यकर्ताले प्रचण्डलाई बोकेर हिडेको उनले बताए । पुषको पहिलो हप्ता एउटै कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्ने पोखरेलको दाबी छ । प्रचण्डलाई जिताउने जिम्मा आफुले लिएको समेत उनले बताए । ‘उहाँ (प्रचण्ड) को विजयलाई कुनै तागतले रोक्न सक्दैन । जनताले १५ हजारभन्दा बढि मतान्तरले जिताउँछन भन्नो विश्वस्त छु’ पोखरेलले भने । चितवनमा प्रचण्ड, एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र आफु गरी तीनैै जनाले भारी मतान्तरले जित्ने उनको दावी छ ।


  •  
  •  
  •