सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री

29
  •  
  •  
  •  

काठमाडौं, २२ मंसिर (ओएनएस) । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्ने प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यको रुपमा अघि बढाएको बताए ।

‘समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सरकार प्रतिवद्ध छ । सरकारको यस अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ ।’

सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भने, ‘केही मानिसहरुले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौं ।’
यस्तै ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

इन्जिनियर पेशलाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड थियो । सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताए ।

‘तपाईंहरुको पेसागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भू बहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पुरा गर्न आफू सकारात्मक भएको बताए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here