निर्वाचन भाड्न एमाले नेतामाथि आक्रमण : ओली

78
  •  
  •  
  •  

काठमाडौँ, २८ कात्तिक (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर प्रदेश सभा सदस्य उम्मेदवार शेरधन राईमाथिको आक्रमणलाई निर्वाचन भाँड्नका लागि गरिएको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन प्रसारका क्रममा भोजपुर–१, ट्माकेमैयुम नगरपालिका–७, गुम्बामा नेता राईमाथि आक्रमण भएको उल्लेख गर्दै यसलाई सिंगो पार्टीमाथि भएको आक्रमणका रुपमा लिएको जनाएका छन् । ‘यो घटनामा संलग्न जोसुकै भए पनि उनीहरुले लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने, मुलुकमा भाँडभैलो मच्चाउने स्पष्ट भएको’ वक्तव्यमा उल्लेख छ ।

आफ्ना उम्मेदवार राई र उनका अंगरक्षक घाइते हुने गरी भएको आक्रमणको निन्दा गर्दै एमाले अध्यक्ष ओलीले संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई आवश्यक सुरक्षा प्रदान गर्नसमेत माग गरेका छन् । सत्ताधारी दलका वरिपरि अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, बाम गठबन्धनका उम्मेदवारमाथि एक पछि अर्काे घटना जारी रहे पनि सरकार उदासीन रहेको आरोप लगाउँदै ओलीले त्यसप्रति आफ्नो पार्टीलाई आश्चर्यचकित बनाएको जनाएका छन् ।

ओलीका वक्तव्यमा सरकारलाई यस्ता घटनाप्रति गम्भीर हुन र दोषी माथी कडा कारवाही गर्न आग्रह पनि गरिएको छ ।


  •  
  •  
  •