प्रीय मृत्यु (कविता)

103
  •  
  •  
  •  

प्रीय मृत्यु

फुल्दै गएका केशले
चाउरिँदै गएको छालाले
दुख्न थालेका जोर्नी र नशाहरूले
तिम्रो आगमनको मङ्गलधुन बजाइरहेछन्

समयसँगै उठ्बस् गर्दा आउने सुस्केराले
ओल्टो कोल्टो फेर्दा निस्किने ‘ऐया’ले
तिम्रो स्वागत गान पनि गाउन थाल्नेछन्

म दौडिरहेछु, श्वास रोकेर
तिमी नआइपुग्दासम्म
गाँस छोडेर, आश बोकेर

तिमी आउँछौ, आइरहेछौ
स–साना सन्देशहरू पठाएर
कहिले इनबक्समा कहिले वालमा
अर्थात् कति नदेखिने त कति देखिने गरी

दिनभरीको थकानपछि
गएर ओछ्यानमा
डङ्रङ्ग ज्यान फाल्दा त कति आराम हुन्छ
जिन्दगीभरीको थकानपछि
तिम्रो काखमा यो ज्यान फाल्न पाएको दिन
ओहो ! कस्तो होला !

तर मलाई तिमी आउने कुराप्रति डर जगाइएको छ
के केन हुन्छ भनेर, अत्याइएको छ
तिम्रो नाम लिननै रोक लगाइएको छ
मलाई भने तिमी भैंm अपार करुणाको खानी कोही लाग्दैन
जिर्ण शरीर र जब्बर मनलाई अँगाल्न सक्ने
तिमी जस्तो मनको धनी कोही लाग्दैन

त्यसैले प्रीय मृत्यु
जसले जे भने पनि
जसले जति अत्याए पनि
म तिम्रो स्वागतको तयारी गर्नेछु
तिमीले पठाएका हरेक सन्देश पढ्दै दङ्ग पर्नेछु
र अन्त्यमा,
तिमी बाजागाजासहित सजिएर आएको दिन
मुस्काउँदै तिम्रो डोली चढ्न
पर्खिएर बसेको हुनेछु ।


  •  
  •  
  •