साफ सुजुकी कप : नेपाल पाकिस्तानसँग पराजित

71
  •  
  •  
  •  

काठमाडाैं, १९ भदाै (एजेन्सी) : नेपालले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा थापिएकाे समयलार्इ सम्हाल्न नसक्दा पाकिस्तानसँग पराजित हुन पुगेकाे छ। बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार ५ मिनेट इन्जुरी टाइममा सम्हालिन नसकेर नेपालले हार सामना गर्नु परेकाे हाे। इन्जुरी समयमा मुहम्मद अलिले गोल गरेपछि नेपाल २– १ ले पराजित भएको हाे । सदुल्लाहको क्रसमा मुहम्मदले नजिकबाट गोल गर्दै पाकिस्तानलाई जित दिलाएका थिए ।

त्यसअघि नेपाललाई खेलमा फर्काउने क्रममा विमल घर्तीमगरले ८२ औंमा मिनेटमा खेलमा बराबरी गरेका थिए । सन् २०१३ को काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पनि पाकिस्तानविरुद्ध इन्जुरी समयमा विमलले बराबरी गोल गर्दै टोलीलाई हार जोगाएका थिए । त्यति बेला नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यसता नेपाल र पाकिस्तानबीच यो पहिलो खेल हो ।

पाकिस्तानविरुद्ध मंगलबार सुजल श्रेष्ठको कर्नरमा आएको बल परिवर्तित नीराजन खड्काले हेडमार्फत मिलाएपछि विमलले नजिकबाट गोल गरेका थिए । ६७ औं मिनेटमा नवयुगको ठाँउमा नीराजन मैदान प्रवेश गरेपछि नेपालले दबाब बढाएको थियो । त्यसअघि ३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । नेपाली टोली कप्तान विराज विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।
सन् १९९३ सार्क गोल्ड कप र साफ च्याम्पियनसिपमा गरि नेपाल र पाकिस्तानबीच ७ पटकको भेट भएको छ । जसमा नेपाल र पाकिस्तानले समान २ जित हासिल गरेका छन् भने ३ खेलाम बराबरी गरेका छन् । समूह एमा नेपाल, पाकिस्तानसँगै भुटान र आयोजक रहेका छन् । अर्को समूहमा सर्वाधिक सफल टोली भारत, श्रीलंका र माल्दिभ्स छन् । आजै हुने अर्को खेलमा भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।


  •  
  •  
  •