सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग राख्दै आन्दोलन

14
  •  
  •  
  •  

धनुषा, २ माघ(ओएनएस) : सचिवमाथि कुटपिट गर्ने मन्त्रीलाई कारबाही गर्न माग राख्दै निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनले बुधबारदेखि आन्दोलन थालेको छ ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

ट्रेड युनियनले कुटपिट गर्ने मन्त्री यादवलाई कारबाहीको माग गर्दै सोमबार मुख्यमन्त्री लालबाबु राउत र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापन पत्रमा युनियनले आन्दोलनमा उत्रिने २४ घण्टे अल्टिमेटम दिएको थियो ।

सोही अनुरुप बुधबार बिहान कर्मचारीहरु मन्त्रालय अगाडि जम्मा भएर माघ ४ गतेसम्मको लागि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

जसअन्तर्गत बुधबार बिहान १० बजेदेखि ११ गतेसम्म पेन डाउन गरी दिनभर हातमा कालोपट्टी बाँधेर काम गर्ने, बिहीबार हातमा कालोपट्टी बाँधी बिहान १० बजेदेखि १२ बजेसम्म पेन डाउन गर्ने र शुक्रबार हातमा कालोपट्टी बाँधेर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने आन्दोलनको कार्यक्रम रहेको ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।

बिहीबारसम्म सत्यतथ्य छानबिन गरी दोषी मन्त्रीमाथि नियमानुसार कारबाही नभए थप दोश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने युनियनले बताएको छ ।

भनेको एनजीओलाई कार्यक्रम नपार्दा गएको आइतबार मन्त्री यादवले सचिव झालाई आफ्नो कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए ।
घटनाको छानबिन गर्न आइतबार साँझ नै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ३ सदस्य छानबिन टोली गठन भएको थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here