बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

कञ्चनपुरमा श्रृङ्खलाबद्ध हत्याकाण्ड : २३ दिनमा पाँच जना मारिए

kanchanpur
कञ्चनपुर, १३ भदौ (ओएनएस) : कञ्चनपुरमा एकपछि अर्को हत्याका घटना सार्वजनिक भएका छन् । जिल्ला नै अशान्तमय बनेको पछ । २३ दिनमै श्रृङ्खलाबद्धरुपमा पाँच् जनाको हत्या भइसकेको छ ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वास नगरपालिका–९, ख गाउँमा सोमबार मौ एक जनाको हत्या भएको अवस्थामा शब फेला परेको छ ।

सोमबार बिहान पुनर्वास नगरपालिका–९ कै नालामा ३० वर्षीय सुर्जे सार्कीको शब रक्ताम्मे अवस्थामा भेटिएको हो ।
त्यस्तै, साउन २९ गते आईतबार राती पुनर्वास नगरपालिका–११ भीमबस्तीस्थित लालझाडी सामुदायिक वन उपभोक्ता समितिको वनन परिसरमा रहेको शिद्धदेवी मन्दिरको आश्रममा बस्दै आएकी धर्मादेवी मल्लको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

दुई कोठाको आश्रममा बिगत चार वर्षदेखि बस्दै आएकी मल्लको शब आश्रमको बरण्डामा रगतले लतपतिएको अवस्थामा फेला परेको थियो । सोको अहिलेसम्म अनुसन्धान टुंगिएको छैन । हत्या किन भयो कस्ले गरेको भन्ने विषयमा जनस्तरमा निक्कै चाँसो र चिन्ता बढ्दै गएपनि प्रहरीले घटना भएको दुई साता बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।

जिल्लामा तीन साता यता शृङ्खलाबद्धरुपमा हत्या भइरहेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुर नहर नजिकै ढुङ्गाले टाउँको थिचेर २४ वर्षीय सशस्त्र प्रहरी जवान नरबहादुर कुँवरको हत्या गरिएको अवस्थामा गत बिहीबार शब फेला परेको थियो । कुँवरको हत्या उनकै बाल्यकालदेखिकै साथी तथा सहकर्मी सशस्त्र प्रहरी जवान भानबहादुर विष्टले गरेको पुष्टि भइसकेको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा बी.एस.सी. चौथो वर्षमा अध्ययनरत् अखिल क्रान्तिकारीका संयोजक समेत रहेका २५ वर्षीय डम्बरबहादुर जाग्रीको साउन २८ गते शनिबार छात्रावासको स्टोर कक्षमै तरकारी काट्ने दाउले घाँटी रेटि हत्या गरिएको अवस्थामा शब भेटिएको थियो ।

त्यस्तै, साउन २१ गते भीमदत्त नगरपालिका–९ मटैनाकी १० वर्षीया बालिका शीतल विष्टको हत्या गरी खोलामा तैरीरहेको अवस्थामा शब फेला परेको थियो ।

कञ्चनपुरमा एकपछि अर्को घटना सेलाउँन नपाउँदै हत्याको श्रृङ्खला चुलिँदै गएको छ । जसले गर्दा जिल्लाबासी नै त्रसित बनेका छन् । “सत्य सेवा सुरक्षणम्” लाई आत्मसात गर्ने नेपाल प्रहरीले अहिलेसम्म बालिका र सशस्त्र प्रहरी हत्याकाण्डको रहस्यो मात्र उद्घाटन गर्न सकेका छन् ।

अपराध अनुसन्धानमा दक्ष कहलिएका नेपाल प्रहरीले यी बाँकीका घटनाहरुमा कहिले र कसरी सफलता हासिल गर्लान् त भन्ने सवाल यतिखेर निक्कै उत्कर्षमा पुगेको छ । यी रहस्यहरुको जालो नेपाल प्रहरीद्वारा यथाशीघ्र च्यातियोस् भन्ने माग जनताले गरेका छन् ।

Comments are closed.

'
Scroll To Top