बहिनी विद्रोह बोल्छे

30
  •  
  •  
  •  

कुन्ता शर्मा

असन्तुष्टि डढेलोजस्तो हुर्किरहेकोछ
पानी पनि प्रज्वलनशील भएको छ
घाँसपातहरु सुकेको खरजस्तो सल्कँदै छन्
बन्दी स्वरहरु उन्मुक्त हुने रहरमा छन्
सम्पूर्ण अहङ्कारका विरुद्ध बहिनी
एउटा युद्धको हुङ्कार गरिरहेकी छ ।

असङख्य बहिनीहरुका
सुन्दर सपनाहरुको चिहानमा
बहिनी रातो गुराँसजस्तो फक्रिएकी छ
फूलका पत्रदलजस्ता
उसका कोमल ओठहरु
आगाका लप्का उगेलिरहेछन्
स्मित मुस्कान भुमरी भएर मडारिँदै छ
खोइ केके भत्कनेहुन्
अनि केके धराशायी हुनेहुन्
बहिनी निःशब्द परिवेशमा
आँधीजस्तो हुङ्कार भरिरहेकी छ ।

हेर्छे नाडीहरु, छाम्छे पाखुरीहरु
भेट्छे अद्यावधि
मासुसँगै एकाकार भएका हत्कडीका नीलडामहरु
असङख्य बहिनीहरु
उपक्षित भएर बाँचेको देखेकी छ
तिरस्कृत भएर मरेको जानेकी छ
विगत र वर्तमान देखेर, सुनेर
कष्ट र झञ्झाबातहरु भेगेर
कुरुप चिन्तनहरुका विरुद्ध
विकृत विशेषणहरुका विरुद्ध
बहिनी उत्तेजित हुन लागेकी छ
पीडा र अपमानका रौरव विरुद्ध
बहिनी विद्रोह बोल्न लागेकी छ ।

कुलकुलाएर बग्ने खोलाजस्ती
कोमल र शान्त मेरी बहिनी
हिजोआज अशान्त भएकी छ
वर्षायामको नदीझैँ
उत्तेजना छर्दै गएकी छ
धेरैधेरै बहिनीहरु
सुन्दर सपनालाई थाँती राखेर
मोहक जीवनलाई
परिवर्तनको बलिवेदीमा होमेर गए,
कति हो कति बहिनीहरु
जीवनलाई तिलाञ्जलि दिएर,
अवचेतनाको निद्रामा लट्ठ
परिवेश झकझकाउँदै गए
यही शृङ्खला कायम राख्तै
कुरुप चिन्तन विरुद्ध
विकृत विशेषणहरु विरुद्ध
अदृश्य बन्धनहरु विरुद्ध
बहिनी द्धन्द्धको संयोजन गर्छे
बहिनी युद्धको उद्घोक्ष गर्छे ।

आँखाहरुले सपना देख्न पाउनुपर्छ ,
भाषहरुले स्वर उराल्न पाउनुपर्छ ,
बन्दी हुनु हुँदैन आकाङक्षाहरु ,
छेकिनु हुँदैन प्रकाशहरु, थुनिनु हुन्दैन प्रवाहहरु
उराल्नुपर्छ विद्रोह, उमाल्नुपर्छ आक्रोश
फेरि पनि अग्निदाह हुनेहुन् कि
छोरी, नातिनी र पनातिनीहरु ,
फरि पुनरावृत्त हुनेहुन् कि
कुरुप मान्यताहरु
खबरदार गर्दै हिँड्छे बहिनी
असहजतासँग भिड्दै हिड्छे बहिनी ।

बहिनी चिच्याउँदै भन्छ–
मतिष्कमा षड्यन्त्र
अझै बाँचिरहेको छ ,
मनमा कलुषित भावना
अझै लुकिरहेको छ ,
युद्ध रोकिनु हुँदैन एकैछिन पनि
गति थामिनु हुँदैन एकै निमेष पनि
सम्भाना
कुनै पनि बेला यथार्थमा फेरिन सक्छ
शिशिरजस्तो नबनोस् जिन्दगी
बहिनी झसङ्ग तर्सन्छे
कुरुपतामाथि नराम्ररी बर्सन्छे
स्नेहसिक्त आँखाहरुबाट बर्साउँदै
ऋागाका लप्काहरु
बहिनी आँधीको हुङ्कार गर्छे ,
डढेलाको चित्कार गर्छे
चुँडाउँदै दासताका फलामे साङ्लाहरु
बहिनी नयाँ युग निर्माणको
शङ्खघोष गर्छे ,
बहिनी नयाँ गन्तव्यको
शुभारम्भ गर्छे ।

बहिनी अझ प्रज्वलनशील बन्छे
झन्झन् उद्धेलित स्वरमा आक्रोश पोख्छे
‘आऊ ! हामी आफै विवेचना गरौँ
क्ष्टकर अतीत र चुनौतीपूर्ण
बर्तमानको छाया होइनौँ कसैको देहको
लाचार लत्रने लहरा पनि होइनौा ;
धरतीजस्तो सहनशील भएर,
असमानताका क्षार समुद्रहरु पिउँदै
अपमानका पहाडहरु छातीभरि बोकेर,
समयको अन्तहीन गतिमा
सधैँसधैँ झञ्झावात र पीडाहरु भोगेर
कति बाँच्ने लाचार भएर,
कति रहने हरेक समय पददलित भएर,
सबै शिखरहरु होचा हुन सक्छन्
दृढ पैतालाहरुका सामु,
बिलौनाका हतियारले असमानताका
पहाडहरु ढल्दैनन्
बलिन्द्र धाराले
युगीन समस्याहरु पखाल्दैनन् ।’
धक्का दिन्छु भन्दै पाषाण पहाडहरुलाई
बहिनी चक्रवात जस्तै हुङ्कार गर्छे
बहिनी ज्वालामुखीजस्तो आगो उगेल्छे ।

बहिनीले विगत जानेकी छे ,
वर्तमान बुझेकी छे ,
रगतले कटकटिएका
इतहासका पाना पढेकी छे ,
क्षड्यन्त्रका कथा सुनेकी छे ,
अत्याचारका अध्याय भोगेकी छे–
‘दुख्ने मन सबैको हुन्छ ,
च्सचसाएर आहात हुने मुटु सबैको हुन्छ ,
मीठा सपना सबैले देख्छन्,
सबैको चेतनाले आत्मीय भाषा खोज्छ
तर भएन, अब नचलमलाई भएन
युगको विकार त्यसै गएन
दुत्कार गरौं, विद्रोह गारौं
लडाउनै पर्छ
चिसा, अनि काला पहाडहरु
उज्याल्नै पर्छ
खोच, अनि सेप्यानहरु
उठौं, अब उठौं
अब अदस्य साहस लिएर उठौं
आफनो भविष्यको निर्माण
आफै गर्न जुटौं
आफ्नो जिवनमार्गको चयन
आफै गर्न जुटौं ।’

आक्रोशित हुँदै आँखाहरुबाट
झिल्का उडाउँदै
सम्पूर्ण आर्कमण्यता विरुद्ध
बहिनी तीव्र गर्जन गर्छे
बहिनी विद्रोह बोल्छे ।

 

मेराे मान्छे कविता संग्रहबाट लिएकाे हाे। लेखक शर्मा पूर्व सांसद हुनुहुन्छ।


  •  
  •  
  •