मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

यसकारण उच्च अदालतका न्यायाधीश नियुक्तिमा ढिलाइ

काठमाडौं, २६ पुस (ओएनएस) : उच्च अदालतका न्यायाधीय नियुक्तिको सिफारिसका लागि बसेको न्याय परिषद्को बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

न्याय परिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्तिको सिफारिस गर्नेछ । तर, नाममा सहमति जुट्न नसकेपछि मंगलबार पनि न्यायाधीश नियुक्तिको सिफारिस हुन सकेन ।

समितिका सदस्य एवं कानुनमन्त्री अजयशंकर नायकले ‘नाममम छलफल चलिरहेको र नाममा सहमति हन नसक्दा’ नियुक्तिको सिफारिस हुन नसकेको बताए ।
न्यायाधीश नियुक्तिको सिफारिसका लागि परिषद्को बैठक गत शुक्रबारदेखि निरन्तर बसिरहेको छ । सोमबारको बैठक पनि नियुक्ति सिफारिस नगरी स्थगित भएको थियो ।

परिषद्ले न्यायाधीश नियुक्तिका लागि कात्तिक तेस्रो साता व्यक्तिगत विवरण आह्वान गरेर छनोट प्रक्रिया सुरु गरेको थियो ।

तर, न्याय परिषद्का सदस्यहरुबीच न्यायाधीश सिफारिसको नाममा सहमति जुट्न नसक्दा नियुक्तिको सिफारिसको निर्णय हुन नसकेको हो ।
न्याय परिषद् अध्यक्ष, सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीले सिफारिस चाँडो टुंगो लगाउन चाहेकी छन् । तर, सहमति जुट्न नसक्दा ढिलाइ भएको हो ।

परिषदका सदस्य रहेका बरिष्ठतम न्यायाधीश बैद्यनाथ उपाध्याय पुस मसान्तभित्र अवकाश हुँदैछन् । उपाध्यायपछि बरिष्ठताका आधारमा गोपालप्रसाद पराजुली न्याय परिषद् सदस्य हुनेछन् । तर, प्रधानन्यायाधीश कार्की र पराजुलीबीचको सम्बन्ध समुधुर छैन । जसकारण पनि कार्की न्यायाधीश नियुक्ति सिफारिसको टुंगो चाँडो लगाउन चाहान्छिन ।

प्रधानन्यायाधीश कार्की अध्यक्ष रहेको न्याय परिषद् सदस्यमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त रामप्रसाद सिटौला, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त पदमप्रसाद वैदिक र कानुनमन्त्री अजयशंकर नायक सदस्य छन् ।

कोको बन्दैछन् न्यायाधीश ?
उच्च अदालतको न्यायाधीश नियुक्तिको सिफारिसको सूचीमा सर्वाेच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल तथा न्याय परिषद्का सचिव कृष्ण गिरीको नाम रहेको रहेको समाचार स्रोतले जनाएको छ ।

यसैगरी, कर्मचारीबाट विपुल न्यौपाने, धीरबहादुर चन्द, लेखनाथ पौडेल, गणेश अर्याल, राजेन्द्र सुवेदी लगायतको नाम पनि छ ।
त्यस्तै, टेकप्रसाद ढुंगाना, साधुराम सापकोटा, डाक्टर रवी अर्याल लगायतको नाम पनि उच्च अदालतको न्यायाधीश नियुक्तिको सिफारिसमा छ ।

जिल्ला न्यायाधीश, कानुन व्यवसायी तथा कानुन, न्याय र सरकारी वकील समूहका कर्मचारीबाट छानिन्छन । उच्च अदालतका ८० न्यायाधीशमा यसअघि म्याद नथपी हटाइएका २६ जनामध्येबाट पनि पर्न सक्नेछन् ।  २०५८ र २०६३ मा नियुक्त भएका जिल्ला न्यायाधीशबाट उच्च अदालतमा नियुक्ति हुँदैछ ।

Comments are closed.

'
Scroll To Top