प्रम ओलीलाई झलनाथको सुझाव : ‘उत्तरदायित्व पूरा गर्न गति बढाउनुहोस्’

10
  •  
  •  
  •  

काठमाडौं, २२ कात्तिक (ओएनएस) : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति बढाउनुपर्ने सुझाव दिएका छन्।

बिहीबार देउसीभैलो कार्यक्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले मुलुकमा अब विकास र समृद्धि हुने कुरामा टशंका नगर्न आग्रह गरे।

‘विकास र समृद्धि सम्भव छ। देश अहिले ऐतिहासिक चरणमा प्रवेश गरेको छ। देशमा क्रान्तिको युगलाई, संघर्षको युगलाई, हड्तालहरुको युगलाई पारत गरेर यहाँसम्म आएका छौं । नयाँ संविधान बनायौं । संविधानबमोजिम निर्वाचन गर्यौं,’ उनले भने, ‘अहिले तीन तहको सरकार निर्माण गरेका छौं । तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो । आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो।’

समृद्धिका पाइलाहरु भर्खरै चल्न थालेको र ती पाइलाहरुमा अझै बेग थप्न जरुरी रहेको उनको भनाइ छ। ‘अझै गति थप्न जरुरी छ। अझै प्रभावकारिता थप्न जरुरी छ। तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं,’ उनले भने।

अहिले देश र सम्पूर्ण जनताले चाँडोभन्दा चाडो विकास र समृद्ध चाहेको सुनाउँदै उनले भने, ‘सिंगो राष्ट्र अहिले सरकारले समृद्धिको लागि चाँडो काम गरोस भन्ने चाहन्छ । हामी लामो समयदेखि गरिबीमा छौं । र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौं । विभिन्न किसिमका बेरोजगारीहरु छन् । ती समस्याहरु हल गर्नुपर्छ ।’


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here