अन्तर्वार्ता: चुनौतीको तालुमा टेक्दै अगाडि बढ्नुपर्छ

एकताको नाममा लतारपतार र सवै मिलाउने नाममा वर्षौ लगाउनु हुँदैन
77
  •  
  •  
  •  

हामी दुई वटा पार्टी छौँ भन्ने कुरा कहिल्यै पनि भुल्नु हुँदैन । एमाले र माओवादी केन्द्रले सहमति गरेर, समझदारी बनाएर प्रधानमन्त्री कसलाई बनाउने, मन्त्रीहरु क–कसलाई बनाउने, नीति तथा कार्यक्रम के बनाउने भन्ने हिसावले जान्छौँ ।

नेकपा एमाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ठूलो दल बनेको छ । पूर्व प्रधानमन्त्री, पूर्व पार्टी अध्यक्ष समेत रहेका एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग निर्वाचन परिणाम, पार्टी एकता र सरकार गठनका विषयमा ओएनएसन्यूजले गरेको कुराकानीको सम्पादित अंशः

प्रदेश र प्रतिनिधि सभा निर्वाचन परिणामलाई कसरी हेर्नुभएको छ ?
लामो समयदेखि नेकपा एमाले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएर आयो । देशको स्वाधिनता, स्वाभिमान, सार्वभौमसत्ता जस्ता विषयमा दह्रो गरी उभियो । जसका कारण जनताले देशभक्त शक्ति यही हो भनेर एमालेको पक्षमा मतदान गरे । यसका साथै हामी स्थापनकालदेखि नै तानाशाह र अधिनायकवादको विरुद्धमा लड्दै आयौँ । नागरिक अधिकार, मौलिक अधिकारको पक्षमा आवाज उठाउँदै आयौँ । वास्तविक लोकतन्त्रको अभ्यास गर्दै आयौँ । आज नेपाली जनताले बुझे–वास्तविक रुपमा लोकतन्त्रको पक्षमा लड्ने पार्टी एमाले रहेछ वा कम्युनिष्ट रहेछन् ।
हामी निरन्तर जनजीविकाको पक्षमा लड्दै आयौँ । गरिवी उन्मुलन, रोजगारी सिर्जना, स्रोत साधानको उच्चतम प्रयोग गर्नुपर्छ र भ्रष्टाचार अन्त्य हुनुपर्छ भनेर लड्दै आयौँ । जनपक्षीय एजेण्डा र कामका कारण वाम गठबन्धनले राष्ट्रव्यापी रुपमा ऐतिहासिक विजय हासिल गरेको छ ।

एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल, स्थायी सरकार, समृद्धि र पार्टी एकताको नाराले मतदातालाई कति प्रभाव प¥यो ?
वाम गठबन्धन बनाएर चुनावी तालमेल गर्ने प्रक्रिया अगाडि बढेपछि जनता थप उत्साहित बने । पार्टी एकता, स्थायी सरकार, समृद्ध नेपालको नाराले मतदातालाई व्यापक रुपमा एकतावद्ध हुन मद्धत ग¥यो । तीसौँ लाख जनता एमालेमा संगठित छन् । जनताले बुझे–हामीलाई संगठित गर्ने, अधिकार सम्पन्न पनि बनाउने र विकास निर्माणको बाटो देखाउने, जेष्ठ नागरिक, महिलाहरुको सम्मान गर्ने, युवा र बालअधिकारको पक्षमा लड्ने कम्युनिष्ट नै हुन् । त्यसकारण पनि हाम्रंो पक्षमा माहोल बन्यो ।

बीचमा आएको संविधान संशोधन प्रस्तावलाई जनताले अस्वीकार गरेको अर्थमा यो परिणामलाई बुझ्न सकिन्छ ?

ऐतिहासिक निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयन भएको छ । संविधान स्थापित भएको छ नेपाली जनताले बनाएको संविधान भएकाले जनता थप बलियो भएका छन् । अव कसैले पनि यो संविधानलाई तलमाथि गर्न सक्दैन । दुई तिहाई विना संविधानको कमा, फुलस्टम पनि परिवर्तन हुन सक्दैन ।

जनतामा ठूलो अपेक्षा छ, जनअपेक्षा पुरा गर्नु त चुनौतीपूर्ण छ नि हैन ?
स्वभाविक रुपले वाम गठबन्धनले ठूलो अवसर प्राप्त गरेको छ । हाम्रो सामु चुनौती पनि छन् । चुनौती भन्दा वृहत अवसर सिर्जना भएको छ । अव मुलुकको आर्थिक विकासमा केन्द्रित भएर जाने, विद्यमान गरिवीलाई उन्मुलन गर्ने, बेरोजगार उन्मुलन गर्ने, राष्ट्रिय स्रोत र साधनको विकास र उपयोग गर्ने, ठूलठूला उद्योग स्थापना गर्ने, राष्ट्रव्यापी रुपमा ठूला पूर्वाधार निर्माण गर्ने, बाटाघाटा निर्माण गर्ने, अन्तर्राष्ट्रिय कनेक्टिभिटीलाई उपयोग गरेर लैजाने अवसर हाम्रा सामू आएका छन् । अवसरहरुलाई ठिक ढंगले उपयोग गर्दै र हाम्रा सामू भएका चुनौतीहरुको तालुृमा टेक्दै अगाडि बढ्नुपर्छ ।

एमाले र माओवादी बीच पार्टी एकता चाहिँ कहिले हुन्छ ?
चुनावी तालमेल गर्ने र पार्टी एकतामा पुग्ने समझदारी गरेर हामी निर्वाचनमा होमियौँ । निर्वाचन सम्पन्न भयो । तालमेल गर्ने हाम्रो नीति जनअनुमोदित भएको छ । अर्थात हाम्रोत त्यो नीति अत्यन्त सफलताको साथ कार्यान्वयन भएको छ । अव हामी पार्टी एकताको दिशामा जानुपर्छ । त्यसक्रममा हामीले पुृरा गर्नुपर्ने दायित्व धेरै छन् । वैचारिक, राजनीतिक र संगठनात्मक एकरुपता कायम गर्नुपर्नेछ । कतिपय विषयमा बहस गरेर टुंग्याउ भन्न पनि सकिन्छ । कतिपय विषयमा पहिले नै एकरुपता कायम गरेर जानुपर्ने हुन्छ । यस्ता धेरै विषयलाई पद्धतिपूर्वक समाधान गरेर अगाडि जानुपर्ने अवस्था छ । त्यसका लागि अलिकति समय लाग्छ । धैर्यता गुमाउनु हुँदैन । एकताको नाममा लतारपतार काम गर्नुहुँदैन । सवै कुरा मिल्नुपर्छ भन्ने नाममा एकताको लागि वर्षौ लगाउने काम पनि हामीले गर्नुहुँदैन ।

अव प्रधानमन्त्री लगायत पदको बाँडफाँड चाहिँ कसरी हुन्छ ?
वाम गठबन्धनले छलफल गरेर अवको प्रधानमन्त्री तय गर्छ । हामी दुई वटा पार्टी छौँ भन्ने कुरा कहिल्यै पनि भुल्नु हुँदैन । एमाले र माओवादी केन्द्रले सहमति गरेर, समझदारी बनाएर प्रधानमन्त्री कसलाई बनाउने, मन्त्रीहरु क–कसलाई बनाउने, नीति तथा कार्यक्रम के बनाउने भन्ने हिसावले जान्छौँ ।

कांग्रेस चाहिँ किन हार्याे भन्ने लाग्छ ?
कांग्रेससँग यसपटक एजेण्डा नै थिएनन् । कांग्रेसले कुनै भिजन पनि दिन सकेन । पटक–पटक कांग्रेसले बहुमत ल्यायो, सरकार संचालन ग¥यो तर भ्रष्टाचार बाहेक केही पनि भएन । देशलाई विकास निर्माणको दिशामा अगाडि बढाउन, वेरोजगारी घटाउन, उद्योग धन्दा खोल्न उसले सकेन । भएका उद्योगधन्दाहरु पनि कांग्रेस नेतृत्वको सरकारले बेचविखन गर्ने काम ग¥यो । राज्यको भूमिकालाई समाप्त पार्ने हिसावले कांग्रेसले भूमिका खेलेकै कारणले नेपाललाई अत्यावश्यक दर्जनौँ उद्योगहरु बन्द भए । यस्ता अनेकौँ कारणले गर्दा कांग्रेसले ठूलो मात्रामा जनमत गुमायो ।

अन्त्यमा ?
हिमाल, पहाड तराईमा रहेका आम नगारिकका साथै प्रवासमा रहेका नागरिकले पनि जुन उत्साहको साथ निर्वाचनमा सहभागी बन्नुभयो र वाम गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुभयो, त्यो एउटा ऐतिहासिक काम हो । ऐतिहासिक काम सम्पन्न गर्नुभएकोमा सिंगो पार्टीको तर्फबाट पार्टीको वरिष्ठ नेताको हैसियतले सम्पूर्ण जनसमुदायलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । यो हामी निर्वाचित प्रतिनिधिहरुको मात्र जित होइन, सम्पूर्ण नेपाली जनताको जित हो, त्यसकारण सम्पूर्ण नेपाली जनतालाई बधाई ज्ञापन गर्न चाहन्छु ।


  •  
  •  
  •