बढ्दो इन्टरनेट प्रयोग : फस्दैंछन् बालबालिका, किशोरकिशोरी

37
  •  
  •  
  •  

काठमाडौं । तपाईले आफ्ना बालबच्चा इन्टरनेटमा कति समयसम्म झुम्मिएका छन् भनेर बिचार गर्नु भएको छ । अनि उनीहरु आफ्नो मोबाइल ल्यापटप तथा कम्युटरमा कति समय बिताइरहेका छन् र त्यो समयमा उनीहरुले के गरिरहेका छन् भन्ने बारेमा कहिल्यै सोधखोज गर्नुभएको छ ?

एक पटक सोचौ न ?

पछिल्लो समयमा बालबालिकाहरुले आफ्नो आवश्यकता भन्दा बढी या भनौ इन्टेरनेटको उचित प्रयोग भन्दा पनि दुरुपयोग गर्न थालेका छन् ।

यसको परिणाम स्वरुप कयौँ बालबालिकाको भविष्य नै अन्योलपूर्ण बन्न गएको छ भने कति बालबालिका डिप्रेसनमा परेका छन् ।

अश्लिल तस्बिर पठाएर धम्काउन थाल्यो

ललितपुरकी कल्पना(नाम परिवर्तन) को फेसबुकमा एक जना विदेशी (बंगाला देशको नागरिक) सँग भएको साधारण सम्पर्कपछि सम्बन्ध गाढा बन्दै गयो ।

उनीहरुको सम्बन्ध पछिल्लो समयमा यतिसम्म प्रगाण बन्न पुग्यो कि त विदेशीले कल्पनालाई मिठा–मिठा मायाका कुरा गर्ने, सँधै उनको तारिफ गर्ने र दिनहुँ जसो फेसबुकको म्यासेन्जरमा गफ गर्न थाले ।
कुराकानी हुँदै गर्दा उनीहरुको फेसबुक म्यासेज हुँदै भिडियो कलसम्म हुन पुग्यो ।

एक अर्काको फोटो साटासाट पनि हुन थाल्यो । समय बित्दै गर्दा पछि केटाले युवतीको अर्धनग्न फोटो पठाउन अनुरोध गर्ने मात्र नभएर भिडियो कल गरेकै समयमा अन्य अश्लिलता झल्कने व्यवहार गर्न समेत अनुरोध ग¥यो ।

शुरुवातमा आनाकानी गरेता पनि मायामा यस्तो क्रियाकलाप साधारण हुने भन्दै विश्वास लिएर उनीहरुको बिचमा यस्ता क्रियाकलाप हुन थाल्यो ।

केटाको माग बड्दै गएपछि कल्पनालाई निकै असहज महशुस हुन थाल्यो र उनले साथीको सम्बन्ध टुटे पनि अब उसले भनेको नमान्नेमा अडान लिन थालिन् ।

अब भने घटनाले फरक रुप लियो । केटाले आफूले भनेको नमानेमा कल्पनाले विगतमा गरेका सबै भिडियो र फोटो आफूसँग सुरक्षित भएकोले उनको साथी आफन्तलाई पठाइदिने भनेर धम्की दिन थाल्यो ।
तर पनि कल्पनाले आफ्ना अडान छोडिनन् ।

अन्तत जे नहुनु थियो त्यो भयो । कल्पनाले असल नियतले विश्वासिलो साथीको रुपमा गरेको विश्वासमा धोका भयो । केटाले उनको भिडियो तस्बिर उनका आफन्त तथा साथीहरुलाई क्रमैसँग पठाउन थाल्यो । कल्पना आफ्नो काम देखेर निकै पछुताउने मात्र होइन आत्महत्या गर्ने प्रयास पनि गरिन् ।

अहिले उनको घटनालाई बालबालिको क्षेत्रमा काम गर्ने एक संस्थाले नेपाल प्रहरीको सहयोगमा कानूनी प्रक्रिया अघि बढाइरहेको छ ।

घटनाको पीडक मुलुक बाहिर भएकोले पीडितलाई न्याय दिन र पीडकलाई कानूनी दायरामा ल्याउन निकै असहज भएको प्रहरीको भनाइ छ ।

विष सेवन गर्न बाध्य

काभ्रे घर भएकी १७ वर्षीया प्रभा(नाम परिवर्तन) विद्यालय स्तरको अध्ययन घर नजिकैको सामुदायिक विद्यालयमा पुरा गरिन् ।
सामान्य परिवारकी उनी त्यसपछि उच्च शिक्षा घरनजिकैको अर्को क्याम्पसमा भर्ना भइन् । स्कूल जाँदा झन्झै आधा घण्टाको बाटो हिँड्नुपर्ने भएपनि क्याम्पस पढ्दा नजिकै भएकाले उनी हिँडेर पुग्थीन् ।

उनले त्यहि क्याम्पसबाट प्लस टु मा ७५ प्रतिशत ल्याएर पास गरिन् । त्यसपछि काठमाडौं आएर बि.बि.ए. भर्ना भइन् ।
काठमाडौंमा ठूली आमासँग खाना खाने अनी बस्नलाई छुट्टै रुम लिएर बस्न थालिन् ।

एक दिन सँधै झैँ कलेज जाने क्रममा आफुसँग मिल्ने साथीहरुले ‘फेसबुकबाट किन आफ्नो यस्तो फोटो सेन्ड गरेको ? भनेर मेरो नांगो फोटो देखाए । एक्कासी आफ्नो यस्तो फोटो देखाउँदा उनी छाँगाबाट खसेझैँ भइन् ।

त्यसको भोली पल्ट पनि कलेज जाँदा उनलाई क्लासको अन्य केटाहरुले त्यही फोटोहरु पठाउन थाले । केही साथिहरुले उनलाई अनलाइन पठाइदे नत्र अर्को फेक आइडी खोलेर वालमा फोटो राखीदिन्छु भनेर धम्काउन थाले ।
कलेज भरी उनको हल्ला चल्न थाल्यो । उनले साथीहरुलाई यो फोटो मेरो होइन भनिन् ।

केहि केटाहरुले ‘नडराउ हामी साथ दिन्छौ’ पनि भने । तर त्यही दिन उनी कलेजमै बेहोस भइन् । उनलाई हस्पिटल लगियो ।  त्यसपछि उनलाई परिवारले घर लगे । सो घटनाको बारेमा परिवारको कुनै पनि सदस्यलाई उनले भन्न सकिनन् ।
ठूलो बुबाको उनीसँग मिल्ने भएको कारण उसँग सबै त्यो घटनाको विषयमा कुरा गरिन् ।  समस्याबारे परिवारलाई भन्दिनु भनेर अनुरोध पनि गरिन् । तर उनले वास्ता गरिनन् ।

त्यो घटनाले धेरै मानसिक तनाब उत्पन्न भएपछि उनले तरकारी खेतीमा प्रयोग गर्न राखिएको औषधी मेटासीट खान बाँध्य भइन् ।

उनलाई बेहोस अवस्थामा हस्पिटल लगिएको थियो । ५ दिन मात्र उनको होस आएको थियो । आइ.सि.युको १९ दिनको उपचारपछि उनी आफू घर फर्कीन् ।

आफु हस्पिटलमा भएको बेला फोन बहिनीले चलाएको र बहिनीलाई पनि सोही फोटो पठाएर धम्क्याउने गर्न थालेको, आमाको फोनमा पनि धम्काएर फोन गरेको कारण सबै कुरा पहिलेनै थाहा भएको उनले पछि मात्र थाहा पाइन् ।

कस्ले यस्तो फोटो पठायो भनेर अहिले पनि दोषी पत्ता नलागेको उनी बताउँछिन् । यो घटनाले उनमा अनिन्द्रा, डर लाग्ने, चिन्ता लाग्ने समस्या देखिएको उनी बताउँछिन् ।

माथि उल्लेख गरिएका कल्पना, प्रभा त हाम्रो समाजमा इन्टरनेटको दुरुपयोगबाट भोग्नु परेको दुव्र्यवहारको प्रतिनिधी घटना मात्र हुन् । पछिल्लो समय अनावश्यक रुपमा बढ्दो इन्टरनेटको प्रयोगले बालबालिका किशोर, किशोरीहरु विभिन्न समस्यामा फस्ने गरेका छन् ।

त्यसैले पढ्ने उमेरका बालबच्चा कतै यस्ता सामाजिक सञ्जालको दुरुपयोगमा फसेका त छैनन् ? भनेर स्वंय अभिभावले नै ख्याल गर्नुपर्छ । हामीले आफ्ना बच्चालाई किनिदिएको मोबाइल, ल्यापटप आवस्यक नहुँदै किनेका त छैनौ ? यसरी किनिदिएको यस्तो सामाग्रीले कतै बालकालिकाको भविष्य नै अन्योलमा परेको त छैन् ?

१३ देखि १८ वर्षका बालिका बढी दुव्र्यवहारमा

नेपालमा ५५ प्रतिशत अर्थात् २ करोड ९६ लाख २४ हजार ३५ जना इन्टरनेट प्रयोगकर्ता रहेका छन् । जसअन्तरगत फेसबुक प्रयोगकर्ता मात्रै ८७ लाख रहेका छन् । त्यसमा पनि पुरुष ६६ प्रतिशत, महिला ३४ प्रतिशत, बालबालिका र किशोर, किशोरीमा ५४ प्रतिशत केटी र ४६ प्रतिशत केटा छन् ।

नेपालमा बालबालिकालाई अनलाइनबाट हुने दुव्र्यवहारको संख्या कति छ भन्ने कुनै त्यस्तो तथ्याडक त छैन । तथापि केही संस्थाहरुले गरेको कार्य अनुभवको आधारमा, सामाजिक सञ्जाल साइटहरु, इमेल हैकिंग, अश्लील वेबसाइटहरु, एसएमएस, बुलिंग सम्बन्धित केहि हदसम्मको रेकर्ड भने ति निकायहरुसँग रहेको छ ।

विशेष गरी १३ वर्षदेखि १८ वर्ष सम्मका बालिकाहरु अनलाईनबाट हुने दुव्र्यवहारमा परेको पाईएको छ । यद्दपी बालकहरुको संख्या भने बालिकाको तुलनामा केहि कम रहेको छ ।

साथसाथ नामक संस्थाले १ सय ७ बालबालिका (उमेर १२ देखि १८ वर्ष) मा गरेको नमुना अध्ययनका क्रममा ९५ प्रतिशत बालबालिकाहरु समाजिक संजालमा सक्रीय रहेको (फेसबुक, म्यासेन्जर, इन्सताग्राम, भाइबर तथा अनलाईन डेटिंग ) पाइएको थियो ।

४३ प्रतिशत बालबालिकाहरुले १ देखि ३ घण्टासम्म समय बिताउने गरेको, २८ प्रतिशत बालबालिकाहरुले नचिनेका व्यक्तिहरुबाट सामाजिक संजालमा उनीहरुको वालमा, फोटोहरुमा नराम्रो कमेन्ट आदि आउने गरेको पाइएको थियो । यस्तै ३१ प्रतिशत बालबालिकाहरुले व्यक्तिहरुबाट सामाजिक संजालमा अश्लिल फोटो, भिडियो, सन्देश आदिको सामना गर्नु परेको थियो थियो भने रिपोर्टिङ प्रक्रियाको बारेमा ३२ प्रतिशत विल्कुल थाहा नभएको, ४२ प्रतिशत केहि हद सम्म थाहा भएको र १५ प्रतिशतलाई मात्र थाहा भएको पाइएको थियो ।

कसरी सुरक्षित प्रयोग गर्ने भन्ने ज्ञानको कमि

बालअधिकारकर्मी कविता शाहका अनुसार सामाजिक संजालहरुमा आवद्ध हुनु नराम्रो कुरो होइन् तर यसलाई कसरी सुरक्षित र प्रभाकारी रुपमा प्रयोग गर्ने भन्ने अज्ञानताको कारणले गर्दा बालबालिकाहरु अहिले अनलाईनबाट हुने यौन दुव्र्यवहारको जोखिममा परेका छन् ।

विशेष गरी १३ वर्ष देखि १७ वर्ष सम्मका बालबालिकाहरु बढी समस्यामा परेको पाईएको छ । पहिला सम्वन्ध राम्रो हुँदा तस्बिर, भिडियो साटासाट गर्ने पछि सम्वन्ध बिग्रिएपछि त्यहि तस्बिर र भिडियोको आडमा दुव्र्यवहार हुने जस्ता घटनाहरु पछिल्लो समयमा तिब्रता पाएको छ ।

स्वंय पीडितलाई नै थाहा हुँदैन’

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक पशुपति राय साइबर अपराधका सन्दर्भमा बालबालिकाको हकमा स्वंय पीडितलाई नै थाहा नहुँने बताउँछन् ।

उपरीक्षक राय भन्छन्, ‘ उनीहरुलाई थाहा नै हुँदैन कि म गलत काममा लागेको छु । त्यसैले नेपाल प्रहरीले यस सवालमा जनचेतना फैलाउने काम गरिरहेको छ । यसले बालबालिकाको लागि निकै सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ ।’

‘सचेत गराउने काम गरिरहेको छौँ’

प्रतिनिधिसभा अन्तरगत कानून न्याय तथा मानवअधिकार समिति सभापति कृष्ण भक्त पोख्रेल भन्छन्, ‘हामीले सामाजिक सुरक्षाको क्षेत्रमा स्वंय बालबालिकालाई नै सशुचित गराउने मात्र नभएर बालबालिका, शिक्षक, शिक्षक, बुबाआमा सबैलाई जानकारीहरु गराउने सचेत गराउने काम गरिरहेको छौँ ।

तर यस्तो काममा समाजका अगुवा तथा नागरिक समाजका व्यक्तिहरुले गरेको काम मात्र प्रयाप्त हुँदैन । उनका अनुसार यो काममा नीति निर्माण पक्ष, सरकारी निकाय लगायत अन्य सरोकारवालाहरुको पनि सक्रिय सहभागीताको आवस्यक पर्छ ।

के छ कानूनमा ?

विद्युतिय कारोबार ऐन २०६३ अनुसार सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्विर प्रयोग गरेर, प्रोफाइल खोलेर गाली बेइज्जती गर्ने, विभिन्न बाहनामा धम्की दिने, विभिन्न किसिमका तस्बिर राख्ने जस्ता क्रियाकलापहरुलाई अपराध मानिन्छ ।

ऐन अनुसार यस्ता क्रियाकलापमा संलग्नलाई १ लाख रुपैयाँसम्मको जरिवाना र ५ वर्षसम्मको कैद या दुबै सजाय हुने प्राबधान छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here