इन्ट्याग्रिटी आइडल २०१७ को मनोनयन खुला

काठमाडौँ, २३ जेठ (ओएनएस) : सक्षम, इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याबिलिटी ल्याबले हरेक वर्ष प्रदान गर्ने इन्ट्याग्रिटी आइडल २०१७ को मनोनयन खुला भएको छ । नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि सुरु गरेको इन्ट्याग्रिटी आइडलका लागि यस वर्षको १६ जनवरी २०१७ बाट चार महिनाका लागि मनोनयन खुल्ला गरिएको छ ।

यही जेठ ३१ सम्म खुला रहने मनोनयनका लागि आम नागरिकलाई आफूलाई चित्त बुझेका राष्ट्रसेवकलाई मनोनयन गर्न आह्वान गरिएको आयोजक संस्थाले जनाएको छ ।

उक्त संस्थाका अनुसार, आयोजक आफ्नो सेवामा समर्पित इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवकहरू कोही पनि नछुटून् भनेर सर्वसाधारणलाई मनोनयनका लागि आह्वान गरिएको आयोजक संस्थाको भनाइ हो । सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्न उदाहरणीय भूमिका निर्वाह गर्ने राष्ट्रसेवकलाई आमनागरिकले सम्मानको लागि मनोनयन गर्न सक्नेछन् ।

इन्ट्याग्रिटी आइडल को आधिकारिक वेबसाइटबाट डाउनलोड गरेर पनि मनोनयन फारम भर्न सकिने वा सिधै अनलाइन भरेर पनि पठाउन सकिने आयोजकले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहने निर्णायक मण्डलमा पूर्र्वसचिव जीवनप्रभा लामा, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश शाह छन् ।

विभिन्न ७ चरणको छनोट प्रकृयापश्चात् स्वतन्त्र निर्णायक मण्डलले तय गरेको मापदण्डका आधारमा प्रतिस्पर्धीमध्येबाट अन्तिम पाँचको छनोट गरिनेछ । अन्तिम पाँचमध्ये सर्वोत्कृष्ट अर्थात् इन्ट्याग्रीटी आइडलको छनोट भने एसएमएस र वेबसाइटबाट प्राप्त जनमतको आधारमा निर्णय गरिने संस्थाले जनाएको छ ।

यसअघि पाँचथरका तात्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, गुल्मीका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले यो उपाधि पाइसकेका छन् ।

SHARE