ईण्डोनेशियामा ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प!

456
  •  
  •  
  •  

काठमाडौं , १३ असाेज (एजेन्सी) : ईण्डोनेशियामा ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएकाे छ। मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपको १८ किलोमिटर गहिराइमा भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस० ले जानकारी दिएको छ ।

भूकम्पपछि करिब ६ फिट लामो सुनामी सुलावेसी द्वीपको पालू शहरमा पसेको थियो । तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको अधिकारीहरुले बताएका छन् । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।

सुनामीबाट प्रभावित पालू शहरमा करिब ३ लाख मानिसको बसोबास छ । त्यहाँ टेलिफोन सेवा समेत ठप्प भएको छ । सामाजिक सञ्जालहरुमा शेयर गरिएका भिडिओमा कयौं मानिस चिच्याइरहेका देखिन्छन् । मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

विश्वका अन्य देशहरुको तुलनामा ईण्डोनेशियामा बढी भूकम्प जाने गरेको छ । पछिल्लो एक महिनामा इण्डोनेशियामा थुप्रै भूकम्प गएका छन् । ५ अगष्ट इण्डोनेशियाको लम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ४६० जना भन्दा बढीको मृत्यु भएको थियो ।त्यसअघि सन् २००४ मा इण्डोनेशियाको सुमात्रा द्वीपमा गएको भूकम्पपछि हिन्द महासागरमा सुनामी जाँदा २ लाख २६ हजार मानिसको मृत्यु भएको थियो । सोही समय इण्डोनेशियामा मात्रै करिब सवा ६ लाख नागरिकले ज्यान गुमाएका थिए ।


  •  
  •  
  •