होलीमा प्रहरीको ‘विशेष सुरक्षा योजना’

काठमाडौंका १०७ ठाउँमा पिकेट ड्युटी परिचालन
630
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : होलीलाई मध्येनजर गर्दै प्रहरीले ‘होली विशेष सुरक्षा योजना’ लागू गरेको छ ।
काठमाडौं प्रहरी परिसरले सोमबारदेखि प्रहरी परिचालन गरिसकेको छ ।

सरकारले होलीमा सार्वजनिक बिदा दिएको छ । काम विशेषले सडकमा निस्कनेहरु माथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका १०७ ठाउँमा पिकेट ड्युटी परिचालन गरिएको छ । कसैले इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्न उनले आग्रह गरे ।

होलीको अवसरमा ठूला कार्यक्रमहरु समेत आयोजना गरिने काठमाडौंमा होली सुरक्षाका लागि मात्रै २ हजार २ सय प्रहरी परिचालन गरिँदैछ ।

कार्यक्रम हुने स्थान र सडकमा पैदल हिँड्नेहरुका लागि समस्या नपरोस् भन्नका लागि पिकेट ड्युटी खटाइने भएको छ ।

२० स्थानमा मोवाइल टोली, क्विक रेस्पोन्स टीम ‘क्युआरटी’ मोटरसाइकल ९२ वटा, २८ स्थानमा पैदल गस्ती, चार स्थामा ट्राइकिङ फोर्स र ११ ठाउँमा रिजर्भ फोर्स तैनाथ गरेर होलीको सुरक्षा गर्नेगरी काठमाडौं प्रहरीले योजना बनाएको छ ।

फागुन ६ गते पहाडी जिल्ला र काठमाडौं उपत्यकामा मनाइने फागू पूर्णिमा अर्थात होली तराईमा ७ गते मनाइँदै आएको छ ।

होली खेलेर बिना हेलमेट मोटरसाइकल चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको स्वयम्भुस्थित भुइँखेल चौर, भृकुटीमण्डप, सिफल चौर, गोंगबु बसपार्क, लैनचौर, ठमेल, क्षेत्रपाटी र सामाखुसी लगायतका १८ स्थानका होली विशेष कार्यक्रम गर्न अनुमति दिएको छ ।

असन, होटल मल्ल र कुलेश्वर भलिबल ग्राउण्डमा समेत अनुमति लिएर होली विशेष कार्यक्रम गर्न लागिएको जनाइएको छ।

होली विशेष ठूला कार्यक्रममा १५ जनाको दरले प्रहरी परिचालन गरिने काठमाडौं प्रहरीले जनाएको छ ।
होलीको बाहना बनाएर सडकमा हिँड्डुल गर्ने युवा युवतीहरुलाई जबरजस्ती लोला हान्नेहरुलाई तत्काल नियन्त्रणमा लिइने र गल्ती स्वीकार गरेमा एक पटकमात्र अभिभावकको जिम्मा लगाएर छाडिने प्रहरी वरिष्ठ उपरीक्षक लामाको भनाइ छ ।


  •  
  •  
  •