बिहीबार, भाद्र ८, २०७४ | Thursday, August 24, 2017
न्युज अपडेट

८० प्रतिशत नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ : डा. पौडेल

८० प्रतिशत नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ : डा. पौडेल

काठमाडौं,  १० जेठ (ओएनएस) : क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले नेपालमा सुर्तीजन्य पदार्थको सेवन विकराल समस्या बन्दै गएको बताएका छन् । यसका कारण मुटु, क्यान्सर, दमलगायत विभिन्न किसिमका रोगहरुबाट मानिसहरु ग्रसित भएको र उक्त रोगहरु उपचारको लागि लाखौँ रुपियाँ खर्च गर्नुपर्ने अवस्थाका कारण सर्वसाधारण आहत भएको उनको भनाइ थियो ।

क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा राजधानीको साउथ वेस्टर्न स्कुलमा आयोजित अन्तक्र्रियात्मक तथा जनचेतनामूलक कार्यक्रममा डा. पौडेलले नेपालमा ८० प्रतिशत नसर्ने रोगहरुको प्रमुख कारण नै सुर्तीजन्य पदार्थ भएको आकडा समेत प्रस्तुत गरे । सुर्तीजन्य पदार्थलाई रोकथाम गर्न सके नेपालमा हुने स्वास्थ्य खर्चमा कमी हुने र स्वस्थ समाज निर्माणको लागि योगदान पुग्ने उनको भनाइ थियो । नसर्ने रोगहरु रोकथामको लागि जनचेतनामूलक कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

विद्यालय उमेरका बालबालिकाका लागि सुर्तीजन्य पदार्थबाट जोगाउने उद्देश्यले आयोजित कार्यक्रममा साउथ वेस्टर्न विद्यालयका प्रिन्सिपल मनोज आचार्यले जनचेतना विस्तार गर्न अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नेपालमा प्रत्येक दिन ४५ जनाले सुर्तीजन्य पदार्थको कारण अकालमै ज्यान गुमाइरहेको जानकारी दिए । सुर्तीजन्य पदार्थविरुद्धको ऐन–२०६८ लागू गर्न पनि सरोकारवालाहरुले जोड दिनुपर्ने उनले बताए ।

स्वास्थ्य मन्त्रालयको सन् २०३० सम्ममा नेपालमा पूर्ण रुपमा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने योजनालाई सार्थक बनाउनको लागि जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने कडरियाको भनाइ थियो ।

पर्याप्त जनचेतनाको अभाव र साथीहरुको प्रभावले गर्दा किशोरकिशोरीहरु सुर्तीजन्य पदार्थबाट नराम्रोसँग प्रभावित भएको उनले बताए । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले यस्ता जनचेतनामूलक कार्यक्रम अति नै उपयोगी रहेको र उनीहरुले सिकेको कुरा समाजका अन्य व्यक्तिहरुसँग आदानप्रदान गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यार्थी, शिक्षकलगायत करिब तीन सयभन्दा बढीको सहभागिता थियो ।

Comments are closed.

'
Scroll To Top