शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

नारायणहिटी राजदरवार छोड्नुको कारण यसरी खुलाए ज्ञानेन्द्रले

gyanendra shahकाठमाडौं, २६ पुस (ओएनएस) : पूर्वराजा ज्ञानन्द्र शाहले पृथ्वी जयन्ती अर्थात तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्मदिनको पूर्वसन्ध्यामा वक्तव्य जारी गरेका छन् । बुधबार पृथ्वी जयन्ती हो ।

ज्ञानेन्द्रले मंगलबार बेलुकी वक्तव्य जारी गर्दै पृथ्वीनारायण शाहको ‘संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप नेपालीलाई प्राप्त देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा’ परेको बताएका छन् । र, नेपालीका लागि गम्भीर चिन्ताको विषय रहेको पनि उनले औंल्याएका छ ।

किन बाहिरिए नारायणहिटीबाट
ज्ञानेन्द्रले मुलुकको तत्कालिक परिस्थितिलाई दृष्टिगत गरेर नारायणहिटी राजदरवारबाट बाहिरिएको बताएका छन् ।

‘स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं । तर, जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं,’ उनले वक्तव्यमा भनेका छन् ।

नेपाल कसैको क्रीडास्थल होइन
पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य जारी गर्दै नारायणहिटी छोडेको दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा पुगेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचकासाथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।’

विश्वमा राष्ट्रवादी भावनाको जागरण भइरहँदा नेपालमा भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत भइरहनु दुःखद र विडम्वनापूर्ण रहेको उल्लेख गर्दै ज्ञानेन्द्रले त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय पहिचान भत्काउने प्रयास
भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधार भत्काउने प्रयास भइरहेको भन्दै ज्ञानेन्द्रले आपत्ति जनाएका छन् ।

‘चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रलाई दुर्वल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन्,’ वक्तव्यमा भनिएको छ ।

समृद्ध नेपाल निर्माणका लागि भन्दै ज्ञानेन्द्रलेसबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलवद्ध हुन पनि आह्वान गरेका छन् ।

जानेन्द्रले यसअघि पुस ६ गते पनि वक्तव्य जारी गरेका थिए ।

Comments are closed.

'
Scroll To Top