अनशनरत डा.केसीको स्वास्थ्यमा समस्या

29
  •  
  •  
  •  

इलाम, २७ पुस(ओएनएस) : तीन दिनदेखि इलाममा अनशनरत डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ ।

उनको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको डा.रामकृष्ण आचार्यले जानकारी दिए ।

शुक्रबारदेखि उनको छाती दुख्न थालेको छ भने रक्तचाप न्यून हुँदै गएको छ ।
यसैगरी खोकी निरन्तर लागिरहेकाले त्यसले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने देखिएको भन्दै चिकित्सकले सावधानी अपनाउन थालेका छन् ।
उनलाई भेट्न आउने शुभचिन्तकहरुलाई परैबाट भेट्न आग्रह गर्दै सत्याग्रह परिसरको मध्य भागमा डोरी राखेर अलग्गै राखिएको छ । शरीरमा पानीको मात्रा र इलेक्ट्रोलाइट्सको कमीका कारण इलाम अस्पतालको स्वास्थ्य टोलीले नसामा क्यानुला राख्न नसकेको बताइएको छ ।
मुटुको चाल ठिकै रहे पनि कुनै समय असामान्य हुन सक्ने भएकाले निरन्तर मोनिटरिङ गरिएको डा.आचार्यले बताए ।
स्वास्थ्यकर्मीले रगत परीक्षणका लागि आग्रह गर्दा भने उनले इन्कार गरेका छन् । स्थानीय स्वास्थ्यकर्मीको टोलीले उनको स्वास्थ्यमा निरन्तर निगरानी गरिरहेको छ । उनको उपचारमा डा. आचार्यका साथै डा.बृजेन्द्र, डा.सर्विन्द्र, डा.सञ्जय लगायत स्थानीय रूपमा उपलब्ध चिकित्सक, नर्स, हेल्थ असिस्टेन्टहरुको टोली छ । केसी बुधबारदेखि १६ औँ पटकको अनसनमा छन् ।

सरकारसँग भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने उनको माग थियो । तर सरकारले बुधबार विधेयक बहुमतले पास गरेको छ ।

यस्ता छन् केसीका माग

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता कार्यन्वयन गरियोस्।
क) सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर शिक्षा तथा स्वास्थ्य समिति बाट अविलम्ब चिकित्सा शिक्षा बिधेयक पारित गरियोस् ।

ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।

ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग ,इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई उपचारका लागि इलाममा ,भोजपुर,ओखल्ढुंगा ,खोटांग,सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा ,पश्चिमी पहाडका डडेल्धुरा ,बैतडी,बझांग लगायतका जिल्ला समेटेर डोटी /डडेल्धुरामा अबिलम्ब मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here