दुई भारतीयद्धारा रुपन्देहीमा गोली प्रहार, एक पक्राउ एक फरार

92
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) :दुई भारतीयद्धारा रुपन्देहीमा एकजना माथि गोली प्रहार भएको छ। सोमबार राती करिब पौने ९ बजेको समयमा सिद्धार्थनगर नगरपालिका ५ बस्ने करणी इन्टरप्राईजेजका संचालक ३८ वर्षीय हरिश सेठीया (पिन्टु) माथि ती गोली प्रहार भएकाे थियाे।

हरिश पसल बन्द गरी स्कुटी चढेर घर तर्फ जाने क्रममा सोही नगरपालिका ५ सेवापथमा भारतीय नम्बर प्लेटको मोटर साईकलमा आएका अपरिचित दुई जना व्यक्तिले हरिश माथि गोली प्रहार गरेका थिए। प्रहरीले घटनाको जानकारी पाउन साथ गोली प्रहार गर्नेको खोजीमा जुटेको थियो।

जिल्ला प्रहरी कार्यालय भैरहवाले आफ्ना मातहत रहेका प्रहरी इकाईहरुबाट समेत तत्कालै प्रहरी टोली परिचालन गरी घटना स्थलको क्षेत्रलाई घेरा बन्दी गरी खोज तलास तिब्र पारेको थियो।

खोज तलास क्रममा भारतीय नंम्बरको शंकास्पद मोटरसाईकल सिद्धार्थनगर नगरपालिका ३ स्थित चिल्ड्रेन पार्क नजिक सडकमा अगाडीको भागमा ७८६ र पछाडीको भागमा युपी ५६ इ४१४९ नं.प्लेट भएको डिस्कभर मोटरसाईकल पल्टाई भागी रहेको अवस्थामा भारत महाराजगंज थाना कोतवाली मोनजोत ग्राम पन्चायत नौतनवा बस्ने ४६ वर्षीय रामजान मुसलमानलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेकाे थियाे।

पक्राउ पछि खानतलासी गर्दा उनकाे साथबाट घरेलु बनावटको नल कटुवा पेस्तोल थान १, सोमा लोड भई फायर भएको खोका थान १, गोली थान १, नेपाली सिम सहितको मोवाईल थान १ लगायतको सामान फेला पारेका थियो।

उक्त भारतीय नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई प्रहरीले रामजान सँग सोधपुछ गर्ने क्रममा घटनामा संलग्न रहेका अर्का भारतीय नागरिक अन्दाजी ३०/३५ वर्षीय साथी भाग्न सफल भएको बताए। फरार ब्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

चलाइएको गोली हरिशलाई नलागेकोले उनी सकुशल रहेको प्रहरीले जनाएको छ। रामजान लाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


  •  
  •  
  •