बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

गौचन हत्याका आरोपी ५ जना सार्वजनिक, मुख्य योजनार अझै फरार

गौचन हत्याका आरोपी ५ जना सार्वजनिक, मुख्य योजनार अझै फरार

काठमाडौँ, २८ कात्तिक (ओएनएस) : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकमार गौचनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

असोज २३ गते गौचनलाई आफ्नो निवासबाट महासंघको कार्यालय आउने क्रममा बानेश्वरस्थित खरिबोटमा गोली हानी हत्या गरिएको थियो । गौचनको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको  थियो । अनुसन्धान टोलीमा केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरिय अपराध महाशाखाका दिवेश लोहनी, तीन डीएसपी, एक इन्सपेक्टरलगायत थिए ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले नेपाल पुलिस क्लव भृकुटीमण्डपमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गरेका हुन्।

पक्राउ पर्नेहरुमा नुवाकोटको पंचकन्या गाउँपालिका–५ बस्ने २१ वर्षीय राजीव स्याङताङ, पर्साको कालीकामाई गाउँपालिका–१ बस्ने ३५ वर्षीय शिवजी महतो, बेतिया जिल्ला ग्राम पंचायत चौबेटोला–७ विहार भारतका २४ वर्षीय मुकेशकुमार पाण्डे, पर्साको ठोरी गाउँपालिका–५ बस्ने १८ वर्षीय सन्तोष गुरूङ र काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने २२ वर्षीय प्रकाश बुढाथोकी रहेका छन् ।

उनीहरुमध्ये राजीव सुटर, शिवजी हतियार तथा मोटरसाइकल व्यवस्थापन, मुकेश हतियार व्यवस्थापन, सन्तोष मोटरसाइकल व्यवस्थापन र प्रकाश उक्त घटनामा सहयोगीको रुपमा संलग्नता रहेको खुल्न आएको प्रहरी दावी छ ।

उक्त महासंघका अध्यक्ष गौचनको ओमशान्ती चोकबाट नयाँवानेश्वरतर्फ जाने क्रममा काठमाडौं महानगरपालिका–३१ प्रयाग चोकमा गत असोज २३ गते गोली हानी हत्या भएको थियो ।

उक्त घटनामा संलग्न रहेका समिरमान सिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु),  श्यामबहादुर गुम्बे, काले दाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा हाल फरार रहेकोले खोजी कार्य भइरहेको सो अवसरमा जानकारी गराइयो ।   

अभियुक्तहरुले एक महिना अगाडिदेखि गौचनलाई निग्रानीमा राखेको, बरामद गरिएको मोटरसाइकल भारतबाट चोरी गरी ल्याई नेपाली नम्बरप्लेट बा.३५ प २४६१ राखी प्रयोग गरेको, शिवजीले भारतको वेतियाबाट नेपाली रुपैयाँ १८ हजारमा मोटरसाइकल खरिद गरी २४ हजारमा तथा भारतको वेतियाबाट ५५ हजार नेपाली रुपैयाँमा हतियार खरिद गरी ६५ हजारमा श्यामबहादुर गुम्बेलाई विक्री गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी दावी छ ।

Comments are closed.

'
Scroll To Top