बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

नेपालमा हावाबाट बिजुली निकाल्ने यन्त्र बनाउने इन्जिनियर लालबाबु पण्डित

नेपालमा हावाबाट बिजुली निकाल्ने यन्त्र बनाउने इन्जिनियर लालबाबु पण्डित

विराटनगर । उच्च तहका नेता भएर पनि साइकलमा यात्रा गर्ने भन्दै लालबाबु पण्डित पूर्वतिर चर्चामा थिए । सामान्य प्रशासनमन्त्री भएपछि उनको चर्चा देशभर फैलियो । विदेशी गिनकार्ड भिरेर नेपालमा सरकारी जागिर खानेहरूलाई दुईमा एक त्याग्न चेतावनी दिएपछि उनी जनतामाझ लोकप्रिय बने । सरल जीवनशैली, तर जुझारु नेताको परिचय बनाएका एमाले पोलिटब्युरो सदस्य पण्डित प्रतिनिधिसभा सदस्यका लागि आसन्न निर्वाचनमा मोरङ ६ बाट कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग भिड्दै छन् । पण्डितको रोचक विगत :

हावाबाट बिजुली निकाल्ने यन्त्र बनाएँ
०३४ मा थापाथली क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह पास गरेँ । त्यसपछि बालाजु औद्योगिक क्षेत्रमा काम गरेँ । त्यहाँ एउटा स्विस प्रोजेक्ट थियो । त्यही वेला मैले हावाबाट बिजुली निकाल्ने मेसिन बनाएँ । सम्भवतः नेपालमा हावाबाट बिजुली निकाल्ने मेसिन बनाउने म नै पहिलो हुँ । त्यो मेसिन परीक्षण पनि गरियो । मुस्ताङमा जडान गरेर परीक्षण गरिएको थियो र सफल पनि भएको हो । त्यो वेला नेपालमा हाइड्रो टर्वाइन बन्थ्यो, जुन विदेश निर्यात हुन्थ्यो ।

अञ्चलाधीशले हेपेपछि मुड्की बजारेर टेबुल फोरिदिएँ
औद्योगिक क्षेत्रमा रहँदा संघर्षमा सहभागी भएँ । मजदुर अधिकारका लागि नेपाल स्वतन्त्र मजुदर युनियन बनाएर संगठित भयौँ । त्यही संगठन पछि जिफन्टमा परिवर्तन भएको हो । त्यो वेला पञ्चहरूका मजदुर युनियन थिए । तर, स्वतन्त्र संगठन थिएनन् । मैले नै हो पहिलोपटक मजदुर संगठनमा चुनाव गरेर नेतृत्व लिएको । मेरो प्रतिस्पर्धी बलराम भन्ने साथी हुनुहुन्थ्यो, तर ८० प्रतिशत मत दिएर साथीहरूले मलाई नै नेता चुनेका थिए ।

तर, त्यो वेला अञ्चलाधीशले दमन गर्न खोजे । वार्तामा बसेका वेला होच्याएपछि मैले उनको टेबलमा मुड्की बजारेँ । मेरो मुड्कीले टेबल नै फोरियो । त्यतिवेला म पक्राउ नै परेँ । मलाई पक्रिएका थिए, इन्सपेक्टर सहवीर थापाले । प्रहरीबाट पक्राउ परेको मेरो जीवनको त्यो नै पहिलो घटना हो । त्यसपछि मैले जागिर नै छाडेँ । मेरो कदमसँगै त्यहाँ ठूलो विद्रोह गरेर तीन सयजनाले एकैचोटि जागिर छाडे । मलाई त्यतिखेर पक्रिने इन्स्पेक्टर थापा पछि सशस्त्रको आइजिपी पनि भए ।

बहुदलपछि मात्रै ‘लालबाबु’को चर्चा
बहुदल आएपछि मात्रै पार्टीका नेताहरूले मलाई लालबाबु भनेर चिने । बालाजुको विद्रोहपछि पार्टीले मलाई मोरङ पठाउने तयारी ग¥यो । ‘हामीले मजदुर आन्दोलन उठाउन सकेनौँ, लालबाबुलाई मोरङ पठाइदिनुपर्‍यो’ भन्दै बारम्बार आग्रह गरेपछि पार्टीले यस्तो तयारी गरेको रहेछ । त्यसपछि माधव नेपाललाई प्रमुख अतिथि बनाएर बिदाइ कार्यक्रम आयोजना गरी मलाई मोरङ पठाइयो ।

बालाजुमा हुँदा सुरेन्द्र पाण्डे, सुलोचना मानन्धरलगायतसँग संगत थियो । उहाँहरूको सहयोगले पार्टीमा आबद्ध भएको थिएँ । सुरेन्द्र पाण्डेले नै मलाई मोरङ जाने चिठी लेखेर दिनुभएको थियो । मोरङमा मलाई ‘लालबाबु पण्डित’को नाममा नवराज गौतमले मात्रै चिन्थे । किनभने, मेरो भूमिगत नाम रामेश्वर यादव, श्रवण र भोला थियो । आवश्यकताअनुसार नाम प्रयोग गरिन्थ्यो । वास बस्दा भोला, आन्दोलनमा खटिँदा श्रवण र मासमा भाषण गर्दा रामेश्वरका रूपमा चिनिन्थेँ । त्यो वेला वर्तमान निर्वाचन प्रमुख आयुक्त अयोधीप्रसाद यादव, पत्रकार रामरिझन यादवलगायत सिराहा र सप्तरीका विद्यार्थीहरू बस्ने एउटा क्षेत्र थियो । म पनि मधेसी भएकाले धेरैपटक पाहुना साथी बनेर उहाँहरूको डेरामा वास बस्न पुग्थेँ । त्यो वेला फिप्टी (५०) भनेर फोन आयो भने मेरै हो भनेर बोलाइन्थ्यो ।

०४५ तिर पञ्चायतविरुद्ध आक्रोश उग्र थियो । पञ्चायतले मोरङ पार्टी सचिव पदम चुडाललाई किनेको रहेछ । उनले सबै कुराको सुराकी गर्दा रहेछन् । हामीले त उनलाई सिध्याउनुपर्छ भन्ने निर्णय गरेका थियौँ, तर पछि बहुदल आएपछि त्यो निर्णय रद्द भयो र उनी पनि बिते ।

मजदुर संगठित गर्न आएको भए पनि म पार्टीका धेरै विभाग हेर्थें । मदन भण्डारीले मलाई विद्यार्थीसँगै मोरङका ३३ वटा पञ्चायत हेर्ने जिम्मा दिनुभएको थियो । त्यो वेला मैले आधिकारिक नाम पूरै गुपचुप राखेँ । अहिले पनि सुमन प्याकुरेल र उहाँको परिवारले मलाई रामेश्वर दाइ भनेर बोलाउनुहुन्छ । ०४६ को पहिलो जनआन्दोलन सम्पन्न भएपछि भने मदन भण्डारीहरूसँगै आधिकारिक नामबाट सार्वजनिक भएको हुँ ।

मन्त्री बन्दा उत्पात डर लाग्यो
अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मलाई राजनीतिक जीवनमै पहिलोपल्ट मन्त्री पद प्राप्त भयो । सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिने चर्चा केही दिनदेखि नै चलेको थियो । तर, मलाई निकै डर लागिरहेको थियो । मन्त्री भएपछि असफल भइन्छ कि भन्ने डरले उत्पात सताएको थियो । धेरै शुभचिन्तकले त सामान्य प्रशासनमन्त्री नबन् भनेर सुझाब दिएका थिए । तर, मैले जनताका लागि सेवा गर्ने भएकाले सानो या ठूलो मन्त्रालयले फरक पार्दैन भन्ने सोचेँ । जाँगर र निष्ठा भएपछि सफल भइन्छ भन्ने विचारलाई बलियो बनाएँ । अन्ततः डिभी-पिआर मुद्दामा सफल पनि भएँ ।

पत्रकारलाई शरीरको रगत झिकेर लैजान भनेँ
म सामान्य प्रशासनमन्त्री छँदाकै घटना हो । पत्रकारहरूको एउटा समूह नै आयो । १० जनाजति हुनुहुन्थ्यो । दसैँ नजिकिँदै गर्दाको समय थियो । उहाँहरूले दसैँ खर्च दिनुप¥यो भन्नुभयो । मैले तत्काल उहाँहरूलाई एउटा प्रश्न गरेँ, ‘दसैँ खर्च दिन्छु, तर सुई ल्याउनुभएको छ ?’ उहाँहरूले छैन भन्ने जवाफ फर्काउनुभयो । त्यसपछि मैले उहाँहरूलाई स्पष्ट जवाफ दिएँ, ‘मसँग पैसा छैन, तलब बाँड्न पनि पुग्दैन । तपाईंहरूलाई नभइनहुने भए सुई ल्याएर मेरो रगत झिकेर लानुस् अनि त्यही बिक्री गरेर खर्च जुटाउनुस् ।’

मैले यस्तो भन्दा पत्रकार साथीहरू रिसाउनुभयो । तर, मचाहिँ अहिलेसम्म पनि मख्ख छु । मेरो त्यही निष्ठाका कारण पत्रकारमाझ आज म इमानदार नेताका रूपमा परिचित छु । मन्त्री भएपछि मिडियाले मलाई पहिलो दलित क्याबिनेट मन्त्री भनेर लेखेको पनि पाएँ । सायद मलाई नचिनेर, नबुझेर होला ।

विराटनगरलाई महानगर बनाउन बल लगाएँ
विराटनगरलाई महानगर बनाउनुपर्छ भनेर विभिन्न दल संघर्षमा थिए । आन्दोलनले दबाब दिइरहेको थियो । गाभिनुपर्ने छिमेकी टंकीसिनवारीका आधाभन्दा बढी जनता पनि सहमत थिए । म आफैँले उहाँहरूको हस्ताक्षर संकलन गराएको थिएँ । तर, जब हामी गाभिने गाविसका जनताको समर्थन लिएर मन्त्रालय पुग्यौँ, तब अधिकारीहरूले हाम्रो कदमलाई इन्कार गरिदिए । उनीहरूले अन्य पार्टीप्रतिनिधिको पनि समर्थन चाहिन्छ भन्नुभयो । तर, त्यो जुट्न सकेन, कांग्रेसले असहमति जनायो । पहिलो चरणमा महानगर हुनबाट रोकियो, विराटनगर । स्थानीयले मलाई केही गर्न नसक्ने ‘लाछी’सम्म भने । पछि स्थानीयको चर्को दबाब भएपछि एमाले–माओवादी सरकारको पालामा विराटनगर महानगरपालिका घोषणा भयो ।

पैसा खर्चेर चुनाव जित्ने दिन गए
म पैसा नभएको मान्छे हुँ । तर, पैसा खर्च गरेर चुनाव लड्ने उद्देश्य भएका धेरै छन् जस्तो लाग्छ । मलाई स्मरण छ, ०४८ को चुनावमा राप्रपाका हरेन्द्रबहादुर थापाले अमेरिकामा बसेका छोराछोरीले पठाएको तीन करोड रुपैयाँ खर्चिनुभयो । उहाँले चुनावका वेला मतपेटिका समातेर भन्नुभएको थियो– मेरो दुई करोड यसैमा छ । तर, मतपरिणाम सार्वजनिक हुँदा उहाँ चौथो स्थानमा पनि पर्नुभएन । जनता अहिले झन् सचेत छन् । पैसाका बोरा बोक्नेहरू परास्त हुन्छन् । राम्रो उम्मेदवारलाई जनताले घर–घरबाट आर्थिक सहयोग गरिरहेका छन् ।
नयाँ पत्रिकाबाट

Comments are closed.

'
Scroll To Top