बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

अनशन स्थलमै दसैँ बनाउने डा. केसीको तयारी

अनशन स्थलमै दसैँ बनाउने डा. केसीको तयारी

काठमाडौं | प्रा. डा. गोविन्द केसीले संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा छिराइएका गलत प्रावधान नहटाएसम्म अनशन नरोक्ने बताएका छन् । विधेयक तोडमोड गरेर पारित गर्ने तयारी गरिएको भन्दै उनले सोमबारदेखि आमरण अनशन सुरु गरेका थिए ।

डा. केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदामा रहेका राम्रा पक्षहरूको भ्रुणहत्या गर्ने प्रयास भएपछि आफू आमरण अनशनमा बस्नुपरेको बताए । उनले संशोधनका नाममा चिकित्सा शिक्षा विधेयकको भ्रुणहत्या गरिएको आरोप लगाए । ‘मस्यौदामा रहेका महत्वपूर्ण बुँदाहरू तोडमोड भएका छन् । विधेयकमा बाँकी रहेका महत्वपूर्ण अन्य प्रावधान पनि संशोधनको नाममा भ्रुणहत्या गरिएको छ । जनप्रतिनिधि भन्नेहरूले नै जनतामाराको भूमिका खेलिरहेका छन् । यसपटक मेरो अभियान पूरा गरेर मात्र अनशन तोड्छु,’ उनले भने ।

संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा १ सय ७१ संशोधन परेका छन् । डा. केसीले अनशन सुरु गरेपछि सरकारसँग कुनै छलफल नभएको बताएका छन् । ‘सरकार र सांसदहरू जताततै लुट्नमा व्यस्त छन् । जनताको हितविपरीत नग्न रूपमा प्रस्तुत भएका छन् । उनीहरूलाई जनताको पक्षम काम गर्न रुचि छैन,’ केसीले भने ।

केसीले आमरण अनशनस्थलमै दसैँ मनाउने बताएका छन् । उनले आमरण अनशनस्थलमै आफ्नो आमाको हातबाट दसैँको टीका लगाउने योजना रहेको बताएका हुन् । उनले भने, ‘मेरो बुढी आमा हुनुहुन्छ । म हिन्दू धर्मावलम्बी हुँ । आमाको हातबाट टीका लगाउँछु ।’ नयाँ पत्रिकाबाट

Comments are closed.

'
Scroll To Top