दीपकराजले चिनेका स्व. कलाकार आरपी

404
  •  
  •  
  •  

काठमाडौँ, २५ मंसिर ।
दीपकराजले चिनेका आरपी शुक्रबार बिहान आठ बजेतिर मलाई विराटनगरबाट फोन आयो । त्यो फोनको सन्देशलाई मैले विश्वास नै गर्न सकिनँ । म एकैपटक लल्याकलुलुक भएँ । फोनले कलाकार भाइ आरपी भट्टराईको निधनको खबर सुनाएको थियो । मैले पत्याउनै सकिनँ । आरपी मेरा निकै आत्मीय भाइ थिए । त्यसैले उनको असामयिक निधनको खबरले आफैँलाई सम्हाल्नै गाह्रो भयो । कुनै कार्यक्रममा सहभागी हुन मन लागेन । अबेरसम्म घरमै बसिरहेँ । उनी विराटनगर जानुपूर्व राति अबेरसम्म सँगै बसेका थियाैँ । छुट्ने वेला मसँग उनले भनेको कुरा अहिले झल्झली सम्झिरहेको छु । उनले भनेका थिए, ‘आजभोलि मेरा दिनहरू ठीकसँग चलिरहेका छैनन् दाइ !’

०६४ सालमा हो, आरपी र मेरो भेट भएको । त्यतिवेला मलाई उनले भनेका थिए, ‘मलाई पनि तपाईंको तितो सत्यमा खेलाउनु न ।’ तर, उत्तिखेरै उनलाई सुट गर्ने रोल थिएन मसँग । त्यसैले भनिदिएँ, ‘हुन्छ, तपाईंलाई सुहाउने क्यारेक्टर भयो भने बोलाउनेछु ।’ त्यसभन्दा पहिले उनले केही नाटकमा अभिनय गरेको भन्ने त सुनेको थिएँ । उनले ‘या या थुक्क’ बोलको हास्य गीत गाएको पनि मलाई थाहा थियो । केही समयपछि मलाई तोते बोल्ने, तर कमजोर दिमाग नभएको एउटा पात्रको आवश्यक प¥यो । अनि आरपीलाई सम्झिएँ । बोलाएर अभिनय गर्न लगाएँ । जब हामी भेट भयौँ, त्यसपछि कहिल्यै पनि मबाट टाढा भएनन् उनी । मेरा सीमित आत्मीय साथीभाइ छन् । त्यसभित्र पर्ने आरपी पनि एक हुन् । मबाट ठूलो आशा, भरोसा र विश्वास राख्थे आरपीले । मेरो कुरा भुइँमा खस्न दिँदैनथे । सुटिङका बेला, अरू वेला जे काम पनि गरिहाल्ने बानी थियो ।

मान्छे मोटो भए पनि निकै फूर्तिला थिए । निकै सहज थिए उनी । ‘तितो सत्य’मा आएसँगै उनी मसँग निकै नजिकिए । सानो कुरा केही भइहाल्यो कि सुनाउन आइहाल्थे । सानो प्राप्तिमा पनि निकै खुसी हुन्थे । उनीसँग मेरो अत्यधिक मात्रामा भेट हुन्थ्यो । भेट नभए पनि दिनमा एकपटक फोनचाहिँ गर्थे । मैले त काम परेपछि मात्र फोन गर्थेँ । तर, उनी निरन्तर फोन सम्पर्कमा रहन्थे । उनले मलाई गुरु नै मान्थे । आरपी मेरो घरमा पनि निरन्तर आइरहन्थे । मेरा छोराछोरीलाई निकै माया गर्थे । भतिज भन्दै बोलाउँथे । मेरी श्रीमतीसँग पनि उत्तिकै राम्रो सम्बन्ध थियो । श्रीमतीले देवर भन्दै खुब माया गर्थिन् । धेरै रात मेरै घरमा पनि बिताएका छन् उनले । विराटनगर जानुभन्दा पहिले पनि राति १२ बजेसम्म मेरोे घरमा बसेका थिए । अहिले मेरा दिन राम्रो चलिरहेका छैनन् दाइ । जे काम गर्दा पनि सफल भएको छैन भन्दै दुखेसो पोखेका थिए । उनले अब महोत्सव गरेर पैसा कमाउने योजना सुनाएका थिए । कला क्षेत्रमा निकै चाख राख्ने व्यक्ति हुन्, आरपी । जब तितो सत्य रोकियो, त्यसपछिको भेटमा उनले सधैँ  तितो सत्य कहिले सुरु हुन्छ दाइ ? भनेर सोध्थे ।

तितो सत्य बन्द भएकोमा मभन्दा बढी उनी दुःखी देखिन्थे । सानो खुसीले पनि फुरुङ्ङ हुने मान्छे थिए उनी । कसैले अन्तर्वार्ता लियो वा मिडियामा सानो समाचार आए पनि फुरुङ्ङ हुन्थे । मसँग खुसी बाँड्न आइपुग्थे । दाइ यसो गरौँ, उसो गरौँ भन्थे । नयाँ–नयाँ योजनाहरू सुनाउँथे । राम्रो गर्नुपर्छ, पैसा कमाउनुपर्छ भन्थे । उनको नराम्रो बानी भनेको दुःखको कुरा कहिल्यै भन्दैनथे । आफू दुःखी भए पनि त्यो कुरा मलाई कहिल्यै भन्दैनथे । मैले उनलाई सधैँ भन्ने गर्थेँ, ‘अप्ठ्यारा र समस्याका कुरा पनि भन्ने गर भाइ ।’ तर, उनले कहिल्यै दुःखका कुरा गरेनन् । उनी पहिल्यैदेखि सुगर र ब्लडप्रेसरका बिरामी थिए ।

डक्टरहरूले थुप्रै खानेकुरा बार्न सुझाब दिएका थिए । तर, उनलाई खानमा जहिल्यै मीठो चाहिन्थ्यो । जिब्रो पड्काएर खाने बानी थियो उनको । डक्टरले भनेजसरी उनले खाना बारेनन् कि भन्ने लाग्छ मलाई । तर, उनले मलाई सधै ‘बारिरा’छु दाइ,’ भन्थे । उनले भर्खरै घर बनाउँदै थिए । भन्दै थिए, ‘घर पूरा गर्नु छ दाइ ।’ ‘तितो सत्य’ रोकिएपछि उनले कुनै विशेष काम गरेका थिएनन् । नाचघरको जागिरमा भने थिए । उनको मुख्य पेसा नै अभिनय थियो । पछिल्लो समय उनलाई बढीभन्दा बढी कामको जरुरत थियो । आरपीका दुई छोरा छन् । एउटाले एसएलसी पनि सकिसकेको छ । त्यसैले उनलाई पछिल्लो समय पैसा र कामको जरुरत थियो । विराटनगर जानुभन्दा केही समय पहिला मसँग आएर पनि धेरै कुरा सेयर गरेका थिए ।

जीवनका कुरा कसैलाई सुनाउनुपर्‍यो भने मलाई खोजिहाल्थे । भाइ मात्र नभएर मेरो सुख–दुःखको सारथि पनि थिए उनी । विराटनगर जानुभन्दा अघि उनले एक हप्तापछि आउँछु दाइ भनेका थिए । विराटनगर पुगिसकेपछि पनि मलाई एकपटक फोन गरेका थिए । अपसोस, एक्कासि उनको निधनको कुराले मलाई निकै कमजोर बनाएको छ । त्यो खबरले मेरा आँखा थामिएका छैनन् । उनीसँगका सम्झना मसँग कति छन् कति । उनका सम्झनाहरू शब्दमा वर्णन गरेर साध्य छैन । मसँग निकै ख्यालठट्टा गर्ने गर्थे । सँगै चिया पिउँदै रमाइलो गरेको, उनले मसँग लुकाई–लुकाई रक्सी पिएको याद आइरहेको छ । आज मैले एउटा आत्मीय मित्र, भाइ र कलामा समर्पित जुझारु कलाकार गुमाएको अनुभव गरिरहेछु । आरपीको आत्माले शान्ति पाओस् ।
नयाँ पत्रिकाबाट


  •  
  •  
  •