पार्टीको भन्दा देशको झण्डा बोकेर हिँड्नमै गर्व छ : धुर्मुस–सुन्तली (भिडियोसहित)

Dhurmus-suntali (1)काठमाडाैं,वैशाख (ओएनएस) : हास्यकलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले झन्झटिलो नीति, नियमका कारण पुनर्निर्माणमा ढिलाई भएको बताएका छन्।

काभ्रे, सिन्धुपाल्चौकको गिरानचौर र बर्दिबासको मुसहर एकीकृत बस्ती निर्माण गरिसकेका धुर्मसले सरकारी नीति, नियममा संशोधन गरे अबको ढेड वर्षमा मुलुक नै पुननिर्माण गर्न सकिने उद्घोष गरे।

कान्तिपुर टेलिभिजनबाट प्रशारित हुने कार्यक्रम ‘फायर साइड’मा धुर्मससँगै कुन्जना घिमिरे ‘सुन्तली’ ले पुननिर्माणका लागि सरकारी संयन्त्र सुस्त भएको समेत टिप्पणी गरे। एकद्वार प्रणाली अन्तर्गत पुनर्निर्माणको काम थाल्नु पर्ने उनीहरुले सुझाए।

बस्ती निर्माणको क्रममा आफ्नो अनुभव समेत सुनाएका धुर्मसले पुनर्निर्माण भन्दा पहिले नेपालीको मन जोड्न आवश्यक रहेको औंल्याए। ‘राजनीतिले छियाछिया भएको मनलाई जोड्न जरुरी छ,’ धुर्मुसले भने, ‘हामीले पनि सम्बन्ध गाँस्दै नाता जोडेर बस्ती बनायौं । धेरै सुत्र लगाएर बस्ती बनाएका हौं।’

पछिल्लो समयमा कलाकार पनि राजनीतिमा होमिने क्रम बढदै गएका बेला धुर्मुस सुन्तलीले भने ‘अहिले पार्टीको झण्डा बोकेर हिँडनु भन्दा देशको झण्डा बोकेर हिँड्नमै गर्व’ रहेको बताए। ‘भोलि यही अभियानमा सामाजिक काम गर्दै जनताको सेवा गर्दे जाँदा जनताले देश बनाउन आइदिनु पर्यो भनेको खण्डमा देश बनाइने अभियानमा जुट्छौं,’ धुर्मुसले भने, ‘पार्टीको झण्डा भन्दा पनि देशको झण्डा बोकेर काम गर्नेलाई सहयोग गर्छाैं।’

राजनीतिक परिवर्तनबिना देश सम्वृद्धि हुन नसक्ने उनले बताए। आफ्नो विगत सुनाउदै धुर्मुसले झापाबाट १७ सय रुपैयाँ र एउटा तन्ना लिएर काठमाडौं आएको सुनाएका थिए।

SHARE