यस्तो बन्नेछ २२ तलाको धरहरा, भत्किएको धरहरा ग्लासमा सुरक्षित

89
  •  
  •  
  •  

काठमाडौं, १६ पुस (ओएनएस) : २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको पुरातात्विक महत्वको धरहरा २२ तलाको बन्ने भएको छ। यसअघि २१ तलाकाे बनाउने भनिएकाे थियाे।

धरहरा पुनर्निर्माणको काम दुई वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैँले गर्न लागेकाे हो।

यसअघि नेपाल सरकारको मन्त्रिपरिषद्ले धरहरा पुनर्निर्माणको काम नेपाल टेलिकमलाई दिएको थियो। तर, टेलिकमले हात झिकेपछि प्राधिकरण आफैँले धरहराको पुनर्निर्माणकाे तयारी थालेको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए।

टेलिकमले निर्णयबाट पछि हट्नुमा कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक संचालनका लागि प्रस्ताव गरेको विकल्प÷डिजाइन सरकारद्धारा स्वीकृत नभएको एवम स्थानीय बासिन्दाहरुको परम्परागत रितिरिवाजलाई देखाएको थियो।

धरहराको डिजाइन तयार गरिएको छ। प्राधिकरणबाट निर्णय भने भइसकेको छैन। प्राधिकरणका अनुसार क्षतिग्रस्त बनेको धरहरा ‘ग्लास’ मा सुरक्षित गरिनेछ। त्यसको नजिकै अर्को २२ तले नयाँ धरहरा बनाइनेछ।

२२ तलामध्ये दुई तला अन्डरग्राउन्ड हुनेछ। भर्याङ भएर अन्डरग्राउन्डमा जानुपर्नेछ। र, अन्डरग्राउन्डबाट लिफ्ट चढेर धरहरा टपमा पुगिनेछ। धरहरामा बैकल्पिक समयका लागि भर्याङको समेत व्यवस्था गरिने भएको छ।

धरहराकाे टपमा एकैपटक ५६ जना अटाउने खाली ठाउँ बनाइने भएको छ। जहाँबाट दृश्यालाेकन गर्न सकिनेछ। एक पटकमा सो लिफ्टमा २० जनासम्म चढ्नसक्ने व्यवस्था गरिनेछ।

अहिले हुलाक सेवा विभाग रहेको ठाउँमा बेसमेन्ट पार्किङको लागि विभागलाई चारखालमा जग्गा र घरसमेत बनाइदिएर व्यवस्थापन गरिसकेको प्राधिकरणले जनाएको छ।

धरहरा पुनर्निर्माण तीन अर्ब ३४ करोडमा आगामी दुई वर्षभित्र गरिसक्ने लक्ष्य लिइएको छ। धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु रहनेछन्।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले ‘मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान सुरु गरेको थियो।


  •  
  •  
  •