एक वर्षमा एक लाख हवाई यात्रु

690
  •  
  •  
  •  

dhangadhi-biman
धनगढी, ३० साउन (ओएनएस) : कैलालीको धनगढी विमानस्थलबाट राजधानी काठमाडौं आवत जावत गर्ने हवाई यात्रुको चाप पछिल्लो पटक बढेको छ ।

मुग्लिन सडकलगायतका सडकहरुका कारण सडक यात्रा असुरक्षित बन्दै गएपनि हवाई यात्रा गर्ने यात्रुको संख्या बढ्दै गएको हो । यो एक वर्षमा धनगढीदेखि काठमाडौंसम्म एक लाख मानिसले हवाई यात्रा गरेको धनगढी विमानस्थलले जनाएको छ ।

विमान यात्रुको संख्या बढेसंगै हाल धनगढी देखि काठमाण्डौका लागि दैनिक चार वटा उडान हुँदै आएका छन् । केही दिनअघि श्री एयरलाइन्स विमान पनि थपिएपछि यात्रुलाई अझै सहज भएको छ । यसअघि सम्ममा मानिसहरुलाई हवाई यात्राका लागि एक हप्ता अघिदेखिसम्म पनि टिकट बुकिङ गर्नुपर्ने अवस्था रहँदै आएको थियो ।

विमानस्थलमा यात्रु तथा विमानको उडान वृद्धि भएसंगै राजश्वमा समेत दोब्बरले वृद्धि भएको विमान स्थलले जनाएको छ ।
केही समय अघिसम्म धनगढी –काठमाडौं दैनिक तीनवटा उडान हुँदै आएका थिए । सडक यात्रा जोखिमपूर्ण तथा लामो समय लाग्ने भएका कारण धनगढी देखि काठमाण्डौंसम्म हवाई यात्रा गर्नेको संख्या बढेको विमानस्थलका कर्मचारी बताउँछन् ।

हरेक बर्खायाममा हवाई यात्रु बढ्नु स्वाभाविकै भएपनि अहिले नारायणगढ–मुग्लिङ सडकखण्डको कारणले गर्दा हवाई यात्रा गर्नेको सङ्ख्या झन बढेको पीएस ट्राभल्स धनगढीका प्रबन्ध निर्देशक पदमविक्रम सिंहले बताए । उनले धनगढी देखि काठमाण्डौका लागी  पहिले यात्रु खोज्न समस्या हुँदै आएकोमा अहिले ब्यवस्थापन गर्नै समस्या भएको बताए ।

धनगढी विमान स्थलबाट हाल बुद्ध, नेपाल एयर लाइन्स र श्री एयरले दैनिक ४ वटा नियमित उडान गरिरहेका छन् । केहि बर्ष पहिले एउटै विमान कम्पनी समेत नचलेको अवस्थामा हाल दैनिक चारवटा उडान हुनु खुशीको कुरा भएको धनगढी विमानस्थलका प्रमुख छविलालसिंह ठकुल्लाले बताए ।

उनले उडान बढेसंगै विमानस्थलको आर्थिक पाटोमा समेत सुधार भएको बताए । आर्थिक २०७२÷७३ मा ६५ लाख राजश्व संकलन गरेको धनगढी विमानस्थलले आर्थिक बर्ष २०७३÷७४ मा १ करोड १७ लाख राजश्व उठाएको ठकुल्लाले बताए ।

धनगढी विमानस्थलले प्रत्येक यात्रु वाफत २ सय एरपोर्ट शुल्क लिने गरेको छ । त्यस्तै प्रत्येक विमानले एक पटक लेण्ड गरेसंगै विमानको तौउल अनुरसार ७ सय ५० देखि १ हजार १ सय ७० रुपैयासम्म लिने गरेको छ।

धनगढी विमानस्थलमा विमान कम्पनीको चाप बढेपनि भाडामा भने कमी आउन सकेको छैन । जसले गर्दा अझै सर्वसाधाणको विमान चड्ने सपना पूरा हुन सकेको छैन ।


  •  
  •  
  •