प्रहरीको गोली लागेर मारिएका व्यक्ति प्रहरीको मोस्ट वाण्टेड सूचीमा

27
  •  
  •  
  •  

रूपन्देही, २९ पुस (ओएनएस) : रूपन्देहीमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका व्यक्ति प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेको खुलेको छ ।

जिल्लाको सिदार्थनगर नगरपालिका–१० शंखरपुरमा शनिबारराति भएको दोहोरो गोली हानाहानमा प्रहरीको गोली लागेर सिद्धार्थनगर नगरपालिका–६ का केदार साहानीको मृत्यु भएको थियो ।
उनी विभिन्न फौजदारी मुद्दामा प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका पाइएको छ । तस्करी हुन लागेको सूचनाका आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरीमाथि फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।
मोटरसाइकलमा सवार रहेका दुई जनामध्ये एक जना फरार भएको रूपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए । उनीहरू सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै उनीहरूले प्रयोग गरेको एक थान अटोमेटिक पेस्तोल, चेम्बरमा एक थान र म्यागजिनमा रहेको तीन थान गोली प्रहरीले बरामद गरेको छ ।
दोहोरो फाइरिङमा प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मारिएका साहानी विगतमा सीमानाका क्षेत्रको तस्करीमा सक्रिय रहेका थिए ।
उनी तत्कालीन नेकपा माओवादीमा आवद्ध हुँदै जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भूमिगत समूह) प्रवेश गरी चन्दा आतंकमा सक्रिय हुँदै आएका थिए ।

कपिलवस्तु जिल्लामा दायर रहेको एक फौजदारी मुद्दामा प्रहरी नियन्त्रणबाट उनी फरार भएर भारत पुगेका थिए । उनलाई नेपाल प्रहरीले वर्षौदेखि मोस्ट वान्डेड सूचीमा राखेर खोजी जारी राखेको थियो । साहानी उपर कर्तव्य ज्यान, बम विस्फोट, चन्दा–फिरौती लगायत मुद्दा रहेका छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here