हिजोआज व्यक्तित्वको ‘मेजर शक’ र प्रस्तुतिका ‘आफ्टर शक’हरुबीच तादाम्य देखिन्न

585
  •  
  •  
  •  

Dildattaसमय कठिन छ । भूकम्पको भय र क्षतिले देश स्तब्ध छ । यस्तो बेला व्यवस्था चिनिँदो रहेछ, छिमेकी चिनिँदो रहेछ र लाएको गुन तिर्नेहरु वा पैँचो दिनेहरु भेटिँदा रहेछन् । मानवीय सहयोगका खातिर विश्व जुट्न खोज्दा आफै भित्र लोभ र स्वार्थले टुटेका अनुहारहरु पनि देँखिदा रहेछन् ।

भनिन्छ कठिन समयमै मानिसको सामर्थ्य वा कमजोरीको पहिचान हुने हो । भूकम्पको त्रासदीका बीच यस्ता मान्छेहरु र बुँख्याचाहरुको लेखाजोखा गरेँ मैले पनि यसपालि । भूपिको हल्लै हल्लाको देश कविता पढेको थिएँ, यसपालि अनुभूत पनि गरेँ ।

थरिथरिका मान्छे देखिए । राजनैतिक नेतृत्व तथा सत्ता सुझबुझका पत्रहरु पनि छ्वाङ्ङै देखिए । आम निराशाको वायु बहदाको प्रभाव असरल्ल देखियो जताततै । आफ्नो स्वतन्त्रता र झुण्डमा केन्द्रित असंवेदशील बन्दो एक उमेर समूहका युवा युवतीका भाति भाति व्यवहारहरु देखिए ।

त्यसो त पीडाले पोखिएका असंख्य मनहरु पनि भेटिए । यी र यस्तै अनेक प्रवृत्ति र चरित्रका मान्छेहरुको बीचमा चिन्दै बुझ्दै आएको एक पात्रले मेरो ध्यान विशेषरुपमा खिच्यो । फरक व्यवहारको प्रतिनिधि भएर देखियो–अभय यतिबेला। त्यसो त जीव जन्मेकै दिनदेखि उसँग एक जीजीविषा हुन्छ ।

त्यस्तो रहर, आकांक्षा र चाहनाको सिलसिला विभिन्न माध्यम र अवसर विशेषमा अलि प्रष्ट देखिने पनि रहेछ । चोट वा शोक पर्दा बालवयमा निस्किने च्याँ च्याँ वा सुक्क सुक्कका अभिव्यक्तिहरु फेरिएर कालान्तरमा मन मुटुका कम्पन बनिदिँदा रहेछन् । सतहमा नदेखिने भौगर्भिक प्लेटहरूबीचको चापजस्तो ।

त्यस्तै गरी कुनै समयका सतही रहरहरू उमेरसँगै लोभमा बदलिँदा रहेछन् । यी विविध अभिव्यक्तिका रुपहरू फेरिए पनि सारमा भने उही हुँदो रहेछ जीवन–एक जीजीविषा अनि फगत् तृष्णा । त्यही भूलभूलैया नै रहेछ शायद जीवन । तर तृष्णाका पनि फरक फरक म्याग्निच्युड र समयअनुसारका रङ्ग हुँदारहेछन् क्यार।

अघिपछिको एउटा बेजोड जीजीविषा, प्रस्तुति र व्यक्तित्व बोक्ने अभय यसपाली भने अर्कै भूमिकामा देखियो । हुन त आम मानिसको जीवनको सिलसिला जति व्यतित हुँदै जान्छ, शायद त्यति उसले सत्य स्वीकार गर्दै जान्छ क्यार । जीवनको कटुसत्य उद्घाटन हुँदा मान्छे सहजै पचाउन सक्दैन भनिन्छ । यस्तो सत्यको अन्तर्यबारे गहनरुपमा तत्वबोध हुन नसके केवल भयमात्र महसुस गर्छ रे मान्छेले । एक बालकले भयानक भूतको डर पालेजस्तो ।

सामान्यतया विज्ञान र कर्मका बान्कीहरु जोडेर आफ्ना समकक्षीहरुमाझ असाधारण देखिने अभय यो भूकम्पीय त्रासदीको बेला घरी अत्यासका, घरी भाग्यवाद, त घरी निराशाका स्वरहरु निकाल्छ । उसको व्यक्तित्वको “मेजर शक” र प्रस्तुतिका “आफ्टर शक”हरुबीच तादाम्य देखिन्न हिजोआज–गत बैशाख १२को भूकम्प र सोपश्चातका पराकम्पनहरुजस्तो ।

गाह्रो साह्रो पर्दा अभय प्राय सबैको सान्त्वनाको स्रोत थियो हिजोसम्म । समकक्षीहरुले आफूभित्रका निराशा, त्रास, पीडा र असहायपनका स्वर निकाल्दा ऊ जीवनका सन्तोष र उपेक्षित उपलब्धीका रंगहरु देखाउँथ्यो उनीहरूलाइ । अशक्त एवम् अनाथहरुसँग तुलना गराई जीवन बाँच्नै पाएको कुरा लिएर पनि नाफाको जिन्दगीको परिभाषा गर्दथ्यो । विविध खाले डर र चिन्ताले आफ्नो ढ्याङ्ग्रो बजिरहे पनि ऊ अरुलाई डराउनु हुन्न, संयम राख्नुपर्छ, आखिर जाने त रित्तै हो नि भन्थ्यो ।

तर आज यी सबै प्रस्तुतिहरुमा एकाएक बदलाव देखिएको छ उसमा । बारम्बारको भूकम्पनसँग उसका विश्वास र आशा डगमगाएका प्रतीत हुन्छन् । सन्तोष र कर्मका सानामसिनै तिन्काहरु समेत बटुल्न सिपालु अभय आज भय र भाग्यका कुरा गर्छ । गुँड निर्माणार्थ व्यस्त भँगेराजस्तै चुच्चोमा केही न केही बोक्ने धूनमा देखिने अभय एक भयानक तथा दुर्बोध्य डरले गहिरो पीरमा देखिन्छ हिजोआज । भूकम्प पीडितहरुका घाउमा सबैले मलम लगाउन खोज्दा सक्रिय हात दिइरहेको छ उसले पनि ।

तर आफ्नो उन्मुक्त हाँसो र निर्भय व्यक्तित्व कतै गुमाएको छ उसले । भुँइचालका प्रत्येक कम्पनहरुसँगै जीवनप्रतिको आशक्ति र मोहको कलेवर फुंग उडेको छ उसको अनुहारबाट । यसको ठिक उल्टो । म डरपोक बरु जसोतसो साहस बटुल्दैछु । अन्यथा भूच्चुक पनि म उज्यालो जूनको कुरा सोच्दैछु । भूकम्पीय आफ्टर शकका पनि कति फरक फरक प्रभावहरू खै । परख गर्दैछु आज । र म सोच्दैछु पनि –खग्रासै सही ग्रहण त ग्रहणै हो अल्पकालको, त्यसपछि उज्यालो नभई अरु के हुन्छ र ? रातपछि बिहान नभएर सुख छ र ?


  •  
  •  
  •