अब के होला : आजै सुशीला काममा फर्किने, आजै संसद बैठक

424
  •  
  •  
  •  

काठमाडौँ, २४ वैशाख (ओएनएस) : संसद र अदालतबीच शक्तिसंघर्ष चलिरहेका बेला आजको दिन महत्वपूर्ण हुने देखिएको छ । यो संघर्ष आगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने कुराको समेत आजको दिनले निर्धारण गर्ने देखिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लगाएर हटाउन खोजेका सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अभीष्टमा अदालतले शुक्रबार नै चिसो पानी खन्याइदिएको छ । ५ दिन निलम्बित बस्नुपरेका कारण आक्रोशित प्रधानन्यायाधीश कार्कीले शुक्रबार नै सांकेतिक रुपमा कार्यभार पुनः सम्हालेकी छन् । आजबाट उनी नियमित काममा फर्किनेछन् ।

भटाभट भ्रष्टाचार मुद्दाको कारवाही अगाडि बढाउन खोजेकी कार्कीको कदममा ब्रेक लगाउन केही हदसम्म राजनीतिक नेतृत्व सफल भएको छ । अब कार्की विष झिकेको सर्प भएर अदालतमा आउँछिन् कि थप महाकाली भएर प्रस्तुत हुन्छिन् ? shushila-karki

संसदको सबैभन्दा ठूलो दल शेरबहादुर देउवाविरुद्ध अदालतको अवहेलना मुद्दा अदालतमा विचाराधीन छ । यति मात्र होइन, प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा अदालतको आदेश कार्यान्वयन नगरी कांग्रेस सभापति देउवा, प्रधानमन्त्री प्रचण्ड र महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अदालतको ठहरविपरीत कार्य गरेको अदालतको बुझाइ छ ।

उता न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासबाट शुक्रबार जारी भएको आदेशले सत्तापक्ष रुष्ट छ । प्रधानमन्त्री प्रचण्डले परिवर्तन स्वीकार नगर्ने तत्वहरुबाट अदालत प्रयोग भएको टिप्पणी शुक्रबार नै गरिसकेका छन् । यति मात्र होइन, कांग्रेस सांसदहरुले समेत अदालतले संसदको विशेषाधिकारमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

शनिबार प्रधानन्यायाधीश र अदालती आदेशको पक्ष र विपक्षमा सडक प्रदर्शन भएका थिए । कांग्रेस र माओवादीनिकट युवाहरुले अदालतको विरुद्धमा शनिबार प्रदर्शन गरेका थिए ।

संसद बैठक आजै बस्ने कार्यतालिका छ । शुक्रबार बसेको बैठकमा एमालेको अवरोधका कारण महाभियोग प्रस्ताव पेस हुन सकेन । उक्त पस्ताव अघि नबढाउन अदालतले जारी गरेको आदेशसहितको पत्र शुक्रबार नै सभामुख ओनसरी घर्तीले प्राप्त गरिसकेकी छन् ।

तर, सभामुख घर्ती, उनका पति वर्षमान पुन र उनको दल नेकपा माओवादी केन्द्र अझै पनि प्रधानन्यायाधीशविरुद्धको कारवाहीको पक्षमै रहेको स्रोतको भनाइ छ । त्यसकारण प्रधानन्यायाधीशलाई काममा फर्कन आदेश गर्ने न्यायाधीश राणाविरुद्ध व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप गरेको आरोपमा थप कारवाही अगाडि बढाउनुपर्ने विषयमा पनि सत्तापक्षबीच छलफल चलिरहेको छ ।

prachanda-and-deuwaप्रधानन्यायाधीशलाई काममा फर्कन आदेश गर्ने न्यायाधीश राणाविरुद्ध व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप गरेको आरोपमा थप कारवाही अगाडि बढाउनुपर्ने विषयमा पनि सत्तापक्षबीच छलफल चलिरहेको छ ।

महाभियोगको प्रक्रिया अगाडि बढाउँदा भने अब अदालतको अवहेलनाको आरोप लाग्न सक्छ । र, अदालतले नेताहरुमाथि यस्तो कारवाही चलाउन सक्नेछ ।

यसबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले यो विषयलाई थप नचर्काउन र शक्ति संघर्षलाई स्थगन गर्न प्रस्ताव गरेका छन् । सत्तापक्षले पनि प्रतिपक्षको प्रस्तावलाई हार्दिकतापूर्वक लिएको कुनै संकेत देखिएको छैन ।

नेपाल बार एसोसिएसनका पदाधिकारी र महान्यायाधिवक्ता रमन श्रेष्ठ लगायतका सत्तापक्षका वकिलहरु अझै प्रधानन्यायाधीशविरुद्ध आफ्ना नेताहरुलाई प्रयोग गर्ने ध्याउन्नमा छन् । उनीहरुको सक्साहटमा लाग्दा यसअघि महाभियोगजस्तो महँगो कदम चाल्नुपरेको र त्यो प्रत्युत्पादक भएको कुरा कांग्रेस र माओवादीको नेतृत्वलाई बोध भएको छ कि छैन भन्नेचाहिँ आजका गतिविधिबाट स्पष्ट हुनेछ ।

यता काममा फर्किएपछि सुशीला कार्कीको प्रस्तुति कस्तो हुनेछ भन्ने पनि प्रतीक्षाको विषय बनेको छ । भटाभट भ्रष्टाचार मुद्दाको कारवाही अगाडि बढाउन खोजेकी कार्कीको कदममा ब्रेक लगाउन केही हदसम्म राजनीतिक नेतृत्व सफल भएको छ । कार्कीले पुनः ती मुद्दाको गति अगाडि बढाउन सक्छिन् कि सक्दिनन् ? अदालतको शुद्धीकरणका निम्ति केही विवादित न्यायाधीशहरुमाथिको कारवाही पनि उनले अगाडि बढाउन खोजेकी थिइन् । अब कार्की विष झिकेको सर्प भएर अदालतमा आउँछिन् कि थप महाकाली भएर प्रस्तुत हुन्छिन् ? न्यायिक र राजनीतिक वृत्तमा व्यापक जिज्ञासा छाएको छ ।


  •  
  •  
  •