पारस खड्काको शतकसँगै नेपालको शानदार जित

631
  •  
  •  
  •  

काठमाडौं, १४ ओएनएस : युएईविरुद्धको तीन एक दिवसीय क्रिकेट श्रृंखलामा कप्तान पारस खड्काले कीर्तिमानी शतक बनाएपछि नेपालले सिरिज जितेको छ ।

सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा भएको तेस्रो तथा निर्णायक खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै २–१ ले सिरिज जितेको हो ।

पारसले शतकसहित ११५ रन बनाएका थिए । ओपनर व्याट्सम्यान विनोद भण्डारी आउट भएपछि क्रिजमा आएका कप्तान खड्काले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, रोहित पौडेल र आरिफ शेखसँग गतिलो साझेदारी गर्दै शतक बनाएका थिए । आईसीसीले मान्यता दिएपछि पारसले पहिलो शतक बनाएका हुन् ।

नेपालका लागि खेल जीताउन उपकप्तान ज्ञानेन्द्र मल्लले पनि उत्कृष्ट पारि खेले । ३५ बलको सामना गरेका मल्लले ४ चौकाको मद्दतले ३१ रन बनाए । ज्ञानेन्द्र आउट भएपछि मैदान आएका दीपेन्द्रसिंह ऐरी भने सोमबार पनि चल्न सकेनन् । उनी १५ बल खेल्दै ६ रन बनाएर पेभेलियन फर्किएका थिए ।

सोमबारमात्रै राष्ट्रिय टिममा डेब्यु गरेका युवा खेलाडी सन्दीप जोराले १९ रन बनाए । २० बल सामना गरेका उनले तेस्रो बलमै छक्का प्रहार गरेर युएईका बलरमाथि दबाव बनाएका थिए ।

जोराले एउटा चौका प्रहार गर्दै लगातार एक दुई रनमा स्ट्राइक रोटेट गरेका थिए । यसअघिको खेलमा अर्धशतक सहित ५५ रन बनाएका विश्वकै कम उमेरका खेलाडी रोहित पौडेलले सोमबार १६ रनको योगदान गरे । १९ बल खेलेका रोहितले एक चौकाको मद्दतले १६ रन बनाए ।

अन्तिममा खेल जिताउन सोमपाल कामी र आरिफ शेख नट आउट रहे । सोमपाल २६ रनमा नट आउट रहँदा आरिफ २१ रनमा नट आउट रहे ।
टस हारि पहिला ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो । २ रनमा २ विकेट लिएर सुरुमा नेपालले युएईमाथि दबाब दिए पनि मिडिल अर्डरका खेलाडीहरु टिकेर खेल्दा उसले सम्मानजनक स्कोर बनाएको थियो ।

गुलाम सब्बेर चिराग शुरीले तेस्रो विकेटका लागि ४५ रनको साझोदारी गर्दै युएईको इनिङ उकासेका थिए । युएईको स्कोर ४७ रन हुँदा कप्तान पारस र लेगस्पिनर सन्दिप लामिछानेले बलियो साझेदारी गरेका मोहमद उस्मान र गुलाम सब्बेरलाई आउट गरेका थिए । त्यसपछि फेरि युएईका चुन्दा रिजवान र साइमन अनवारले इनिङ सम्हाल्न सफल भए । उनीहरुकाबीचमा १०० रनको साझेदारी भएपछि नेपाललाई खेलमा फर्कन केही अप्ठेरो भएको थियो ।

४७ रनमा चार विकेट गुमाएको युएईले १४७ रनमा पाँचौ विकेट गुमाएको थियो । ४५ रन बनाएका रिजवानलाई करण केसीले आउट गरेका थिए ।

यसैगरी युएईको २२७ रन हुँदा पारसले अर्धशतक सहित ८७ रन बनाएका अनवरलाई पेभेलियन पठाए । मजबुत ब्याटिङ अर्डर रहेको युएईका लागि मोहमद बोताले ३१ बल खेल्दै ४ छक्का र ५ चौका सहित ५९ रनमा नटआउट रहे । यसैगरी ३ बल खेलेका कप्तान मोहमद नाभिदले एक छक्का र एक चौका प्रहार गरेका थिए ।

नेपालका करण केसी र पारस खड्काले दुई दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले एक÷एक विकेट लिएका थिए ।


  •  
  •  
  •