आज मन्त्रिपरिषद्ले ‘पूर्णता’ पाउने, मन्त्रालयको संख्या थप्ने तयारी

417
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : ३ फागुनमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी ओलीले ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्। प्रधानमन्त्री ओली एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा छन्।

वातावरणमन्त्री लालबाबु पण्डितका अनुसार संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने लगभग निश्चित छ। तर, राष्ट्रिय जनता पार्टी नेपालसँग छलफल जारी छ।

‘सम्भवतः आज नै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,’ ओएनएससँग कुरा गर्दै मन्त्री पण्डितले भने।

मन्त्रिपरषद्को बिहीबारको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनः गठनबारे छलफल भएको थियो।  प्रधानमन्त्री ओलीले बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छलफल गरेका थिए।

नयाँ सरकारमा एमालेले प्रधानमन्त्री कार्यालयसहित ११ र माओवादीले ७ मन्त्रालयमा सहमति गरेपनि अन्य दलहरुलाई सरकारमा सहभागी गराउन मन्त्रालय थपको सम्भावना रहेको छ।

मन्त्रालयको संख्या बढाउने सहमति भएमा एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग आउनेछ। त्यसैगरी, राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ। मन्त्री पण्डितका अनुसार मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा टुंगो लागिसकेको छैन।

संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन्। फागुन ३ गते नियुक्त प्रधानमन्त्री ओलीको सरकारमा हालसम्म ७ मन्त्री मात्र सहभागी छन्।


  •  
  •  
  •