सन् २०५० सम्म अन्धोपन तीन गुणाले बढ्ने

eye check

काठमाडौं, १९ साउन : एउटा नयाँ अध्ययनले आगामी केही दशकभित्रै विश्वभर अन्धोपनबाट पीडित हुने मानिसको संख्या तीन गुणाले बढ्ने जनाएको छ।

‘द ल्यान्सेट’ नामक जर्नलमा छापिएको उक्त लेखमा उपचार प्रणालीमा सुधार नआए अहिले ३ करोड ६० लाख रहेको अन्धोपन पीडितको संख्या सन् २०५० सम्ममा ११ करोड ५० लाख पुग्ने भविष्यवाणी गरिएको छ।

अनुसन्धानकर्ताहरुले हालैका दशकमा अन्धोपनसँग जुधिरहेका मानिसहरुको संख्या कम भइरहेको भएपनि औषत आयु र जनसंख्याको वृद्धिका कारण यो क्रम उल्टने बताएका छन्। विश्वभर वृद्ध मानिसहरुको जनसंख्या बढ्दै गएकाले यस्तो अवस्था आउने वैज्ञानिकहरुले बताएका छन्।

खराब
सबैभन्दा खराब अवस्था दक्षिण तथा पूर्वी एशिया र अफ्रिकाको सब-सहारा क्षेत्रमा देखिने उनीहरुको भनाइ छ।
अनुसन्धानकर्ताहरुले मोतिविन्दु र अन्य दृष्टि सम्बन्धी समस्याहरुको उपचारमा थप लगानी गर्न र दृष्टि सम्बन्धी समस्या भएका मानिसलाई चश्मा उपलब्ध गराउन सुझाव दिएका छन्।

१ सय ८८ वटा देशमा गरिएका अध्ययनले दुई करोड मानिसहरुलाई मध्यम देखि गम्भीर किसिमको दृष्टि सम्बन्धी समस्या रहेको देखाएको थियो। सन् २०५० सम्ममा उक्त संख्या ५ करोड ५० लाख पुग्ने ठानिएको छ।

एङ्ग्लीया रस्कीन विश्वविद्यालयका प्राध्यापक तथा प्रमुख अनुसन्धानकर्ता रुपर्ट बोर्न भन्छन्, “मध्यमस्तरको अन्धोपनले पनि एउटा व्यक्तिको जीवनमा ठूलो प्रभाव पार्न सक्छ।” “उदाहरणका लागि त्यसले उनीहरुको स्वतन्त्रतामा अकुँश लगाउनसक्छ, सवारी साधन चलाउनबाट उनीहरुलाई बञ्चित गर्न सक्छ।”
उनले अन्धोपनले शैक्षिक र आर्थिक अवसर समेत गुम्ने उल्लेख गरे। बीबीसी

SHARE