नगरपालिकाको केन्द्र सार्ने विवादले गाडी ताेडफाेड, मेयर -उपमेयर बीच चल्याे यस्ताे नाेक झाेक!

82
  •  
  •  
  •  

काठमाडौं, २५ असाेज (ओएनएस) : सिरहामा एक नगरपालिकाकाे केन्द्र सार्ने निर्णयले विवाद उत्पन्न भएपछि मेयर चढेकाे गाडीमाथि ताेडफाेड भएकाे छ। नगरपालिकाको विशेष नगरसभाबाट फर्कँदै गर्दा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान चढेकाे गाडीमाथि ताेडफाेड भएकाे हाे।

यस विषयमा मेयर पासमानले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्। भीडले गरेको ढुङ्गा प्रहारबाट मेयर सवार गाडीका सिसा फुटेका छन्। नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको विवाद निरुपणको लागि बोलाइएको विशेष नगरसभाको समाप्तिपछि ना १ झ १६३९ नम्बरको स्कार्पियोमा चढेर गत मंगलबार साँझ सबा ५ बजेतिर घर फर्किने क्रममा कर्जन्हा नगरपालिकाकै बगाहा चोकमा भीडले एक्कासी उनीमाथि आक्रमण गरेको हो।

दलित भएकै कारणले आफूलाई असफल बनाउन षडयन्त्रपूर्व केही व्यक्तिले यस्ता घटना घटाउँदै आइरहेको पत्रकार सम्मेलन गरी मेयर पासमानले बताए। मेयर पासमानले आफूमाथि कर्जन्हा नगरपालिकाकै उपमेयर ज्ञानु श्रेष्ठले खटाएको भीडले आक्रमण गरेको आरोप लगाएका छन्।

तर उपमेयर ज्ञानु श्रेष्ठले नगर प्रमुखले आफूमाथि लगाइएको आरोप निराधार रहेको दावी गरेका छन्। ‘केन्द्र सार्ने प्रस्तावविपरीत बगहाका सर्वसाधारण विगत केही दिनदेखि धर्नामा बसेका थिए,’ उनले भनिन्, ‘नगरपालिकाको विषयमा हुने जुनसुकै विवादको आरोप मेयरले जहिले पनि मैमाथि लगाउँछन्, त्यो आक्रमण गलत भयो भनी मैले भनिरहेको छु तर पनि फेरि त्यो घटनाको आरोप मैमाथि लगाइएको छ।’

कर्जन्हा गाउँपालिका बनेपछि सरकारले राजपत्रमा बगहा स्थित साविक कर्जन्हा गाविसको तीन कोठे भवनलाई केन्द्र तोकेको थियाे । कर्जन्हा गाउँमा नगरपालिकाको कार्यालय बनाउन १० कठ्ठा जग्गा उपलब्ध भएपछि मेयर पासमानले केन्द्र सार्नुपर्ने प्रस्ताव राख्दा उपमेयर पक्षले विमति जनाउँदै आएका छन्।


  •  
  •  
  •