विनोद चौधरी : कांग्रेस चलाउने कि देश ?

151
  •  
  •  
  •  

ओएनसएस टिप्पणी । केही दिनअघि खर्बपति विनोद चौधरीले पूर्णकालीन राजनीति गर्ने घोषणा गरे । हालै निर्वाचनको मुखमा एमालेको समानुपातिक सूचीमा नपरेपछि कांग्रेसमा प्रवेश गरेर समानुपातिकतर्फ मधेसी आरक्षण सूचीको पहिलो नम्बरमा नाम पार्न पनि सफल भए । अरु कैयन् कांग्रेस उम्मेदवारमा अझै धुकचुक छ, चुनाव जितिन्छ कि हारिन्छ ? तर, चौधरी कांग्रेस सांसद बन्ने पक्काजस्तै छ ।

अमेरिकामा ट्रम्प आए, नेपालमा विनोद चौधरी किन राजनीतिमा हावी हुन सक्दैनन् ? चौधरी किन नेपालको कार्यकारी प्रमुख हुन सक्दैनन् ?

चौधरी कांग्रेस प्रवेश गरेका मात्रै छैनन्, प्रचार प्रसारको जिम्मेवारी समेत सम्हालिसकेका छन् । विगतमा उनले जेजसरी राजनीतिक दल तथा नेताहरुलाई सहयोग गरे पनि उनी घोषित रुपमा दलको प्रचारमा खटिएको भने यो पहिलोपल्ट हो । अहिले पनि उनले आर्थिक सहयोग कांग्रेसलाई मात्रै गरेको भन्नेमा कोही पत्याउनेवाला छैन । कुरा धेरै र थोरैको मात्रै हो ।

व्यापार र राजनीति

हुन त नेपालमा राजनीति नै कहिलै घाटामा नजाने व्यापार भएको छ । राजनीतिमा लागेपछि आर्थिक हैसियत उलटफेर नभएका नेता कार्यकर्ता पाउन गाह्रो छ । यही कारण पनि हुन सक्छ कि व्यावसायिक समुदाय, ठेकेदार, बिचौलिया, एनजीओकर्मी, पैसावालाहरु राजनीतिमा बढी आकर्षित भएका छन् । चुनावमा टिकट पनि तिनै पैसावालहरुले बढी पाएका छन् । यस्ता हुलियावाला यसपटक कांग्रेसमा बढी देखिएका छन् ।

उनी मुलुकको प्रधानमन्त्री बन्ने हैसियत राख्छन् , कांग्रेसजनले पत्याएमा । तर, बहुराष्ट्रिय सञ्जाल र सम्पर्क भएका उनले आफ्नो सम्पत्तिको सुरक्षा र व्यापारिक नाफाका निम्ति अन्य मुलुकमा पनि उचित व्यवहार र समर्पणभाव प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यतिखेर हाम्रो राष्ट्रिय स्वार्थ पराजित हुने अवस्था आए के गर्ने ?

विश्वव्यापी रुपमै नेतृत्व राजनीतिकबाट व्यावसायिक फाँटतिर ‘सिफ्ट’ भइरहेको छ । पहिला धर्मगुरुले समाजलाई नेतृत्व गरेका थिए । राजनीतिक शक्ति पनि धर्मगुरु वा पीठाधीशहरुबाट निश्रित हुन्थ्यो । विस्तारै त्यो शक्ति राजनीतिक संस्थाहरुमा स¥यो । कतै राजा, कतै राष्ट्रपति, कतै राजनीतिक दल त कतै पञ्चायत (प्रेसिडियम) शैलीको सामूहिक नेतृत्व प्रणाली अपनाइयो । पछिल्ला वर्षहरुमा नेतृत्वमा आर्थिक घरानाहरु हावी हुन थालेका छन् ।

अमेरिकामा डोनाल्ट ट्रम्प आएजस्तै संसारका धेरै नेता व्यावसायिक समुदायबाट राजनीतिक नेतृत्वमा उदाएका छन् । भारतमै पनि नरेन्द्र मोदीलाई आध्यात्मिक भनेर प्रचार गरिए पनि प्रकारान्तरले उनी कर्पोरेट प्रतिनिधिका रुपमा मान्नेहरु धेरै छन् ।

अहिले मोदीलाई पृष्ठभूमिबाट सहयोग गरिरहेका स्वामी रामदेव नै भोलि त्यहाँको राजनीतिमा हावी भएछन् भने उनको स्वामी परिचय पतञ्जलीको स्वामित्वसँग जोडेर दिइनेछ । उनी राजनीतिमा आउँदा पनि पतञ्जली ब्रान्डको साम्राज्यकै आडमा आउनेछन् । उनमा राजनीतिको चस्का कुन हदसम्म घुसिसकेको छ भन्ने कुरा मोदी उदाउनुअघि कांग्रेस सरकारविरुद्ध छेडेको आन्दोलन र अनसन राजनीतिबाटै स्पष्ट हुन्छ ।

चौधरीले उत्तर दिनैपर्ने अर्को प्रसंग छ, राजा वीरेन्द्र र उनका पारिवारिक सदस्यहरुसँग गरेको व्यावसायिक साझेदारी । चौधरीले गोलमटोल स्पष्टीकरण दिएका छन् तर इमानदार रुपमा उनले राजदरबारसँगको साझेदारी कति हो, कहाँकहाँ त्यो लगानी भएको छ भन्ने सार्वजनिकीकरण गरेका छैनन् ।

हामीले धेरै प्रसंगमा उदाहरण दिँदा भारत र अमेरिकाकै बढी दियौँ । तर, न हामीकहाँ अमेरिकामा जस्तो स्थिर राजनीतिक प्रणाली र सुदीर्घ आयु बोकेको संविधान प्राप्त भयो । न भारतमा जस्तो आर्थिक वृद्धि र बलियो प्रशासनतन्त्र नै आयो । अर्थात्, हामीले लोकतन्त्रका नाममा न अमेरिकाको अभ्यास गर्यौँ, न भारतको जस्तो । गर्यौँ त केवल विहारको नक्कल । विहारमा नीतिशकुमार आएपछि त्यो पनि हाम्रा लागि अनुकरणीय रहेन ।

तसर्थ, अमेरिकामा ट्रम्प आए भन्दैमा नेपालमा विनोद चौधरी किन राजनीतिमा हावी हुन सक्दैनन् ? चौधरी किन नेपालको कार्यकारी प्रमुख हुन सक्दैनन् ? यी प्रश्नहरु राजनीतिक बजारमा चल्न थालेका छन् । तिनको उत्तर खोज्ने प्रयास गरौँ ।

ट्रम्प बन्न सक्लान् चौधरी ?
एक, विनोद चौधरी धनाढ्य हुन् । पैसाका चतुर खेलाडी हुन् । कुनै पनि नेपालीले नेपालमा व्यापार व्यवसाय गरेको छ भने उसले विदेशमा सम्पत्ति लैजान, राख्न र व्यवसाय गर्न पाउँदैन । तर, विनोद चौधरी मात्र यस्ता पात्र हुन्, जो भारतदेखि दुबईसम्म आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्छन् र खुलेआम भन्छन्, मैले यति कमाएँ र उति कमाएँ ।

लौ भैगो, उनी व्यवसायी हुन् । गरुन् न त व्यवसाय । जहाँ जहाँ चल्छ, चलोस् । तर, उनी आफ्नो व्यवसायका सिलसिलामा राज्यप्रति इमानदार छैनन् भन्ने कुरा विभिन्न प्रकरणबाट देखिन्छ । ०६६÷६७ को चर्चित नक्कली भ्याट बिल प्रकरणमा मुछिएका ५ सय १८ फर्महरुमध्ये सीजी फुड्स, सीजी इलोक्ट्रोनिक्स, सीजी इम्पेक्स गरी चौधरी ग्रुपका तीनवटै प्रमुख कम्पनीका कारोबार जोडिएका फर्महरु परेका थिए । उक्त भ्याट छली प्रकरण नेपालको कर प्रशासनमा कर डकैतीका रुपमा चर्चित छ । यस्तै थुप्रै प्रज्ञापन पत्र र कर छली प्रकरणमा चौधरी ग्रुप मुछिँदै आएको छ । अर्थात्, कर्पोरेट कल्चरमा कमजोर पात्र हुन्, चौधरी ।

कुनै पनि नेपालीले नेपालमा व्यापार व्यवसाय गरेको छ भने उसले विदेशमा सम्पत्ति लैजान, राख्न र व्यवसाय गर्न पाउँदैन । तर, विनोद चौधरी मात्र यस्ता पात्र हुन्, जो भारतदेखि दुबईसम्म आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्छन् र खुलेआम भन्छन्, मैले यति कमाएँ र उति कमाएँ ।

चौधरीले उत्तर दिनैपर्ने अर्को प्रसंग छ, राजा वीरेन्द्र र उनका पारिवारिक सदस्यहरुसँग गरेको व्यावसायिक साझेदारी । चौधरीले विभिन्न अन्तर्वार्ता र आफ्नो पुस्तकमा गोलमटोल स्पष्टीकरण दिएका छन् यसबारे । तर, इमानदार रुपमा उनले राजदरबारसँगको साझेदारी कति हो, कहाँकहाँ त्यो लगानी भएको छ भन्ने सार्वजनिकीकरण गरेका छैनन् । ०५८ को राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि उनको सम्पत्तिमा दाबी गर्ने कोही बचेको छैन । तर, राज्य संयन्त्र लागिपरेमा त्यसको हिसाबकिताब खोज्न सकिने विज्ञहरुको भनाइ छ ।

अहिले कांग्रेसकै कतिपय नेताहरु अनौपचारिक छलफलमा भन्दै छन् कि दरबार शक्तिशाली हुँदा चौधरीले दरबारकै आडमा व्यवसाय चलाए र बत्तीसकोठी महाजनको भूमिका खेले । गणतन्त्र आएपछि उनी राजनीतिक सुरक्षा खोज्दै एमालेमा पुगे । अहिले कांग्रेस उनको रोजाइमा परेको छ ।

कांग्रेस र चौधरी
सुवर्णशमशेर नामका धनाढ्य हुँदा स्थापनाकालमा कांग्रेस चलाउन सजिलो भएको थियो । नवलपरासी निर्वाचन क्षेत्र भएका कांग्रेस नेता सशांक कोइरालालाई चौधरी ग्राम उद्योगका मालिकको पार्टी प्रवेशले सहुलियत नै भएको होला । बीपी भक्तहरुले बीपीपुत्रलाई नै पार्टी सभापतिका रुपमा हेर्न चाहे र भोलि सशांक सभापति भए भने पार्टीलाई कर्पोरेट मोडलमा लैजाऔँ भन्दै चौधरी आफू कार्यकारी अधिकृत बन्न तम्सिन सक्नेछन् ।

सशांकले खानपिनमा पथपरहेज गरिसकेका छैनन् । राजनीतिक नेता कार्यकर्तासँगको भेटघाटलाई उनले दैनिकी बनाउन भ्याएका छैनन् । उनको त्यही कमजोरीको फाइदा उठाउँदै शेरबहादुर देउवाको एकलौटी कांग्रेसमा मजैले चलिरहेको छ । भोलि सशांकले पार्टी चलाउन भ्याएनन् र चौधरीको जिम्मा लगाए वा प्रधानमन्त्रीका रुपमा चौधरीलाई प्रोजेक्ट गरे भने अन्यथा नमाने हुन्छ ।

विश्वव्यापी रुपमै नेतृत्व राजनीतिकबाट व्यावसायिक फाँटतिर ‘सिफ्ट’ भइरहेको छ । पहिला धर्मगुरुले समाजलाई नेतृत्व गरेका थिए । विस्तारै त्यो शक्ति राजनीतिक संस्थाहरुमा सर्यो । पछिल्ला वर्षहरुमा नेतृत्वमा आर्थिक घरानाहरु हावी हुन थालेका छन् ।

राजनीति सबैभन्दा बढी इमानदार र सेवाभाव भएको व्यक्तिले गर्नुपर्ने हो । किनभने, सबै नीतिहरुको पनि निर्देशक नीति राजनीतिलाई मानिन्छ । नीति नैतिकताबाट सुरु हुन्छ । तसर्थ, राजनेता भनेको समाजको सबैभन्दा उच्च नैतिकवान् व्यक्तिले मात्र गर्दछ भनिन्छ । तर, नेपाल मात्र यस्तो मुलुक हो, जहाँ अन्यत्र कतै पनि बिक्न सक्ने नैतिकता बाँकी नरहेपछि राजनीतिमा लाग्न र गोरखधन्दा चलाउन छूट छ ।

नेपालमा राजनीति कब्जा गरेपछि नीति आफ्नो अनुकूल बनाउन सकिन्छ भन्ने सोच व्यापारिक समुदायमा छ । अर्कोतर्फ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रत्यक्ष वार्तालाप गर्न सक्ने सीमित नेपालीमा गनिन्छन् खर्बपति चौधरी । मोदी पहिलोपल्ट काठमाडौँ आउँदा होटल हायातमा पहिलो भेट नै चौधरीसँग गरेका थिए । अहिले बाम गठबन्धनलाई उत्तरी शक्तिको सहयोगमा बनेको ठान्दै दक्षिणी शक्तिले अन्तिम क्षणमा राप्रपा, बाबुराम भट्टराई र कांग्रेसको गठबन्धन, चौधरीको कांग्रेस प्रवेश र राजपाका केही नेतालाई सिट छाड्ने वातावरण बनाउन भूमिका खेलेको कांग्रेस नेताहरु नै चर्चा गर्छन् ।

जे भए पनि चौधरी नेपाली नागरिक हुन् । त्यस त्यसकारण उनी राजनीति गर्ने र मुलुकको प्रधानमन्त्री बन्ने हैसियत राख्छन् । कांग्रेसजनले पत्याएमा भोलि उनी कांग्रेसको सभापति बनेछन् भने पनि त्यो स्वाभाविक नै होला । तर, बहुराष्ट्रिय सञ्जाल र सम्पर्क भएका उनको सम्पत्ति संसारका धेरै देशहरुमा छ । आफ्नो सम्पत्तिको सुरक्षा र व्यापारिक नाफाका निम्ति उनले अन्य मुलुकहरुमा पनि उचित व्यवहार र समर्पणभाव प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यतिखेर हाम्रो राष्ट्रिय स्वार्थ पराजित हुने अवस्था आएमा के गर्ने ? सबैभन्दा विचारणीय प्रश्न यही हो ।


  •  
  •  
  •