झन्डै २२ अर्बकाे भित्रियाे अन्नपूर्ण विमान, कहिले भर्दैछ जापान र काेरियाकाे उडान् ?

577
  •  
  •  
  •  

काठमाडौँ, १४ असार (ओएनएस) : नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलोपटक अारामदायिक वाइडबडी विमान नेपाल भित्र्याएको छ । पूजा गरेर विमानको स्वागत गरिएको छ। ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ ।

नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।
‘अन्नपूर्ण’ विमानले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग खरिद गरकाे हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।

निगमको नयाँ जहाजले जापान र दक्षिण कोरिया उडान सुरु गर्नेछ। जापान र दक्षिण कोरियामा धेरै नेपालीले काम गर्दै आएका छन्।

विमानका विशेषता

नयाँ जहाजमा प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम छ जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिनेछ । विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् ।

यो विमान लिन नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ र दुई जना नेपाली पाइलट फ्रान्स पुगेका थिए । तर, यो विमानलाई दुई जना विदेशी पाइलटले उडाएर ८ घण्टाको यात्रा तय गर्दै काठमाडौं ल्याइपुर्‍याइदिएका हुन् ।

फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।


  •  
  •  
  •