विमान दुर्घटना : बंगलादेशका उड्डयन तथा पर्यटन मन्त्री काठमाडौं आए, ज्यान गुमाउनेकाे संख्या ५० पुग्यो

150
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहजाहन कमल मंगलबार काठमाडौं आएका छन्। बंगलादेशको नागरिक उड्डयन प्राधिकरणका निर्देशकसहित मन्त्री कमल विमान बंगलादेश एयरलाइन्सबाट मध्यान्ह काठमाडौं उत्रिएका हुन्।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बांगला विमान दुर्घटनापछि बंगलादेश सरकारका तर्फबाट आफ्नो नागरिकको स्थिति अवलोकन पीडित नागरिकहरुको संयोजन गर्न उनी नेपाल आएको बताइएको छ।

यसअघि युयस–बांगला एयरलाइन्सको विमानमार्फत प्रमुख कार्यकारी अधिकृत इमरान आसिफको संयोजकत्वमा ७ सदस्यीय एयरलाइन्सको टोली आजै बिहान ११ बजेर १० मिनेटमा नेपाल आइपुगेको थियो। सो विमानमा दुर्घटनामा ज्यान गुमाएका तथा घाइते बंगलादेशी नागरिकका ४६ जना आफन्त पनि आएका छन्।

युएस–बांगला एयरलायन्सको टोलीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीहरुसँग भेट गर्ने बताइएको छ।
मन्त्री कमलसहितको टोलीले आजै विभिन्न अस्पतालमा पुगी घाइतेहरुको अवस्थाबारेमा जानकारी लिनेछन्। उनले मृत्यु भएका बंगाली नागरिकको शवलाई स्वदेश लैजाने सम्बन्धमा नेपाली सरकारी अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ। मन्त्री कमलले नेपालका कुन–कुन उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नेछन् भन्ने खुलाइएको छैन।

चालक दलका ४ सदस्यसहित ७१ यात्रु बोकेर ढाकाबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सोमबार युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको थियो।

नर्भिक अस्पतालमा उपचाररत विमानका पाइलट अबिद सुल्तानको आज मृत्यु भएको छ। उनीसँगै विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ।


  •  
  •  
  •