भुजेल भाषाको पहिलो चलचित्र ‘हामी भुजेल’ प्रदर्शन

31
  •  
  •  
  •  

लमजुङ,पुस(ओएनएस) : लमजुङ सदरमुकाम बेसिशहरमा रहेको अन्नपुर्ण चलचित्र हलमा भुजेल भाषाको पहिलो चलचित्र नि–प्हुगाल अर्थात हामी भुजेल प्रदर्शन भएको छ ।

भुजेल समुदायको हराउँदै गएको भेषभुषा भाषा संस्कृति तथा रिति रिवाजको जर्गेना गर्नका लागि भुजेल भाषामा आधारित हामी भुजेल शनिबार प्रदर्शन भएको हो ।

सो हलमा एक कार्यक्रमको आयोजना गरी प्रदर्शन शुरु गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि रहेका लमजुङ क्षेत्र नम्बर ‘क’ बाट निर्वाचित गण्डकी प्रदेशका सासंद धनञ्जय दवाडीले भुजेल भाषाको चलचित्रले भुजेल समुदायको संस्कार संस्कृतिको जर्गेना गर्नका लागि मदत पुग्ने बताए ।

यस्ता चलचित्रले भावी पुस्तामा आफ्ना जातजातिको परम्परागत रिति रिवाज थाहा पाउने र उनीहरुलाई समेत आफ्नो परम्परा धान्न उत्पेरित गराउने भएकाले यस चलचित्र निकै महत्वपुर्ण रहेको उनले बताए । भुजेल समुदायको भाषा संस्कार संस्कृति जोगाउनलाई भुजेल भाषामा चलचित्र निर्माण गरी प्रदर्शन गरिएको निर्माण युनिटको भनाई छ । भुजेल समुदायको लोपहुँदै गएको भेषभुषा, बासको चोयाबाट दोको नाङ्लो बुन्ने चलन हराउँदै जानु, गरिब, युवापुस्ताले त्यती ख्याल नगर्दा भाषाको संरक्षण गर्न चुनौती लगायतका बिषयबस्तुलाई चलचित्रमा उतार्न खोजिएको पाईन्छ ।

भुजेल समुदायको पेसा बासको चोयाबाट डोको नाङ्लो बुनेर जिविका चलाउने पुख्यौली पेसाबाट अहिले पनि जिविका चलाउन सक्ने सन्देश दिएको यस चलचित्रकी नायिका पुजा भुजेलले बताईन् ।

गत ७ फागुनको प्रजातन्त्र दिवसको अवसर पारेर आदीमुल तनहुँ, कास्कीकोट पोखरा लगायतका ठाउँमा छायाँकन गरिएको थियो । करिब ४६ दिनमा छायाँकन सकिएपछि नेपालकै पहिलो भुजेल भाषा ईतिहासकै पहिलो पटक २९ गते माघमा पोखरामा प्रदर्शन भएको यस चलचित्रका कथाकार कमल भुजेलले बताए । उनका अनुसार लमजुङमा पहिलो र नेपालकै चौथौपटक यस जिल्लामा प्रदर्शन भएको हो ।

भुजेल समाज सेवा समिति नेपालको ७२ वटा जिल्लामा रहेकोले सबै जिल्लाहरुमा यस चलचित्र प्रदर्शन गरिने भएको छ । भुजेल समाज सेवा समिति केन्द्रीय र भुजेल चलचित्र संघ केन्द्रिय समितिको सक्रियतामा भकारी इभेन्टस् प्रा.लीको ब्यानरमा हामी भुजेल चलचित्र बनेको छ ।

सेवानुङ फिल्मस् प्रालिको प्रस्तुती भुजेल भाषा र संस्कृतिमा आधारित पहिलो भुजेल कथानक चलचित्र रहेको छ । यस चलचित्र ३५ लाखमा निर्माण भएको हामी भुजेल चलचित्र युनिटले दाबी गरे । २ घण्टा ३५ मिनेट लामो भुजेल भाषाको चलचित्र नि–प्हुगाल अर्थात हामी भुजेललाई लमजुङे दर्शक तथा भुजेल समुदायले निकै रुचाए । यस चलचित्रमा ३ वटा गीत रहेको छ ।

चलचित्रमा पुजा भुजेल र भिम भुजेलको मुख्या अभिनय रहेको छ । त्यस्तै अन्य कलाकारहरु पार्वती भुजेल (मिनु) सचिन, पृथ्वी, लोकबहादुर, जुनु, अन्जली, कमल, कला, कविता, प्रतिक्षा, विज्ञान, जिबन, आषिक, बसुन्धरा, लाल बहादुर, रन्जु, बिष्णु, शोभा, सुरेन्द्र राज, भेष राज, कृष्ण, सागर, मनु र ज्ञानु भुजेल रहेका छन् । भुजेल समाज सेवा समिति केन्द्रिय र भुजेल चलचित्र संघ केन्द्रिय समितिले चलचित्र निर्माण गरेको हो । कार्यकारी निर्मातामा पोखराका कमल बहादुर भुजेल रहेका छन् । कथाकार लमजुङका कमल भुजेल हुन् भने, परिकल्पना रेशम भुलेल हुन् ।


  •  
  •  
  •